अर्जुन शैली : विगतदेखि वर्तमानसम्म
सलमान शाह (अनलाइन खेल खबर ) । उमेर मात्र १५ वर्ष पुगेको छ । तर खेल र उमेरको तालमेलमा व्यापक भिन्नता छ । खेल्ने शैली अझ लोभलाग्दो रहेको छ । नाम हो अर्जुन कुमाल जो काठमाडौंमा केही दिन अघि मात्र सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट खेलेका थिए ।
त्यो उनको डेब्यु राष्ट्रिय प्रतियोगिता समेत थियो । प्रतियोगिता खेल्न काठमाडौं आउनु अघि उनि पोखरामा भएको गण्डकी प्रादेशिक छ्नोट प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान समेत घोषित भएका थिए । त्यस क्रममा उनले ३ खेलमा १ सय ४२ रन बनाएका थिए । सोही आधारमा उनको काठमाडौंको टिकट पक्का भएको थियो ।
जस अन्तर्गत गण्डकीले प्रतियोगिताको सुरुवात च्याम्पियन त्रिभुवन आर्मी क्लबसँग खेल्दै गरेको थियो । जुन प्रतियोगिताको उद्घाटन खेल समेत थियो । जसमा गण्डकीले तारिफयोग्य प्रदर्शन गर्दा अर्जुनले पनि आफूलाई ध्यानाकर्षण गराउन सफल भए । खेलमा गण्डकी ९८ रनले पराजित त हुन् पुग्यो । तर पनि हारका बाबुजुत अर्जुनले भने आफ्नो क्षमतालाई सबै सामु पुर्याए ।
आर्मीविरुद्ध उनले ५४ बलको सामना गर्दै ६ चौकासहित ३६ रन जोडे। दोस्रो खेलमा गण्डकीले प्रदेश १ माथि सुखद नतिजा निकाल्ने क्रममा २ विकेटले विजयी हुँदा उनै अर्जुनले ३५ रनको योगदान गरे । त्यस क्रममा उनले ६८ बलको सामना गर्दै ५ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
तेस्रो खेलमा गण्डकी प्रदेश कर्णालीसँग ५ विकेटले पराजित हुन पुग्यो । तर यस खेलमा पनि अर्जुनले आफुलाई न्याय गरे । आफ्नो परिपक्वता देखाए । त्यस क्रममा १ सय ६ बलको सामना गरेका उनले ६ चौकासहित ४६ रनको योगदान टिमलाई दिए । यस्तै समूह चरणको अन्तिम खेलमा एपीएफविरुद्ध भने उनि शून्य रनमा आउट हुन् पुगेका थिए ।
करिब डेढ बर्ष अघि उनले यहिँ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उमेर समूहमा दुई राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेका थिए । त्यसबेला पनि उनको खेल्ने शैलि देखेर सबैले तारिफनै गरेका थिए ।
नेपालमा आएर खेलेको उनको पहिलो प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको ब्यबस्थापनमा भएको अण्डर सिक्टिन स्कुल क्रिकेट प्रतियोगिता रहेको थियो । जुन २०७५ को चैत्र महिनामा भएको थियो । प्रतियोगिताको उपाधि तत्कालिन प्रदेश ३ ( बागमती ) ले उचालेको थियो ।
फाइनल खेलमा प्रदेश ५( लुम्बिनी ) लाई ३३ रनले पराजित गर्दै बागमती प्रतियोगिताको च्याम्पियन बनेको थियो । त्यसबेला उत्कृष्ट खेलाडी लुम्बिनीका विशाल विक्रम केसी घोषित भएका थिए भने उत्कृष्ट ब्याट्सम्यान बागमतीका आईस भटराई र उत्कृष्ट बलर लुम्बिनीका रमेश कुर्मी घोषित हुँदा प्रतियोगिताको उदायमान खेलाडिका रुपमा यिनै गण्डकी प्रदेशका अर्जुन कुमाल चुनिएका थिए ।
यस प्रतियोगितालाई आधार बनाएर नेपालले थाइल्यान्डमा एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेल्न गयो । जसमा अर्जुनले २ खेल मात्र खेलेका थिए । उक्त प्रतियोगितामा म्यानमारविरुद्ध २६ रनमा अविजित रहेपछि झन उनको चर्चा ब्यापक हुन् पुग्यो । त्यसपछि उनले दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलको सामना गर्दै १ चौकाको मद्दतमा १६ रन जोडेका थिए । बाँकी खेलमा भने उनले मौका पाएका थिइन् । तर थाईल्यान्डमा नेपालले आफ्नो दबदबा कायम राख्दा च्याम्पियनसमेत बन्यो । फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो ।
थाईल्यान्डमा इस्टर्न रिजन खेलेर फर्किएसँगै त्यसको तीन दिनपछि काठमाडौंमा अर्को यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता भयो । २०७६ बैशाखको १८ गतेबाट मनमोहन मेमोरियल क्रिकेट सेन्टरले अन्तर प्रदेश यु – सिक्टिन राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्यो । जसमा अर्जुनले गण्डकीबाटै प्रतिनिधित्व गरेका थिए ।
साच्चिकै यु-१६ जस्तो लाग्ने गण्डकीका लागि प्रतियोगिता त्यति संतोषजनक त रहेन । तर सम्भावनाको ढोका भने व्यापक खोल्यो । प्रतियोगितामा गण्डकी सुदूरपश्चिमसँग र बागमतीसँग पराजित हुँदा टिमले कर्णालीमाथि जित आत्मसाथ गर्दै सुखद अत्य गरेको थियो । कर्णालीविरुद्धको जितमा प्लेयर अफ द म्याच समेत घोषित भएका उनले ४९ रनको योगदान गरेका थिए ।
नेपालमा घरेलु र थाईल्यान्डमा अन्तर्राष्ट्रिय खेलको संवाद चाखेका अर्जुन त्यसपछि भारतको राजधानी दिल्लीतर्फ लागे । दिल्लीमै जन्मिएका कुमालको घर नेपालको गुल्मी जिल्लामा रहेको छ ।
बुबा मेघ बहादुर कुमालको रोजगारीका सिलसिलामा आमा बुवासँगै उनि दिल्लीमै बस्दै आएका छन् । तर नेपालमा प्रतियोगिताको बारेमा उनले जानकारी लिईरहन्छन । त्यहाँ उनले आफ्नो क्रिकेटिङ यात्रालाई अझ सबल पार्नका लागि एकेडेमीमा ठूलो मेहनत गर्दै आएका पनि छन् । उनको लगाभ र मेहनत प्रतियोगितामा समेत देखिन्छ । ७ वर्षे कलिलो उमेर देखि क्रिकेट सिक्न एकेडेमी ध्याउन लागेका कुमालको त्यो मेहनत मैदानमा पनि देखिन् थालेको छ ।
लाग्छ उनि क्रिकेटकै लागि जम्मिएका हुन् । मैदान भित्र प्रवेश गरेसँगै उनलाई कुनै हतार हुँदैन । उनि आफ्नो प्राकृतिक शैलीमा मज्जैले खेल्न सक्छन् । बललाई रिड गर्ने र कमजोर बलमाथि सट प्रहार गर्ने उनको विषेशता हो । उनि यो उमेरमै सट छ्नोटमा पोख्त समेत देखिन्छन् । जुन आफैमा सकारात्मक पक्ष पनि हो ।
प्रधानमन्त्री कप खेलिसकेपछि उनको अबको लक्ष्य नेपालको यु -१९ राष्ट्रिय टोलीबाट खेल्ने रहेको छ । त्यसका लागि उनि अहिले तयारी गर्दै पनि छन् । नेपालमा वा दिल्लीमै पनि उनि जसरी अघि बढिरहेका छन् । त्यसले पनि उनिमा त्यो भोक देखाएको छ । अहिलेको समयसम्म आईपुग्दा यु-१९ का लागि उनि उपयुक्त पनि देखिन्छन् ।
यस बारेमा गण्डकी प्रदेशका प्रशिक्षक रिजन प्रजु पनि अर्जुनकै मनसायलाई बुझेर गण्डकी प्रादेशिक क्रिकेट संघसँग समन्वय गरेर नेपाल आएर खेल्ने माहोल मिलाउँदै आएका छन् । त्यस क्रममा संघ र अन्य सहयोगीमनबाट उनलाई साथ मिलेको छ ।
उनि भन्छन् अर्जुन आफैमा राम्रो खेलाडी हुन् । अझ अर्जुनले धेरै गर्न बाँकी रहेको छ । यो त सुरुवात मात्र हो ।
यस्तै गण्डकी प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीले अर्जुनको मनोभावलाई बुझेर अर्जुनलाई सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।
कार्की भन्छन् ‘हामी व्यक्तिगत रुपमा पनि एकडेमी चलाइरहेका छौं। त्यसमा अर्जुनलाई निःशुल्क खेलाउन तयार छौं। अर्जुनजस्ता राम्रा खेलाडी उत्पादन गर्न गण्डकी प्रदेश सहयोग गर्न तयार छ, ‘हामीले कसरी खेलाउन सक्छौं भनेर योजना बनाइरहेका छौं। उनि नेपालमा खेलेर बस्न सक्ने वातावरण बनाउन हामी लाग्छौं।’
यसरी प्रतिभालाई गण्डकीले चिनेको छ र कसरी आफ्ना खेलाडीलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने कुरामा लागिपरेको देख्दा साच्चिकै त्यसले सकारात्मक सन्देश दिएको छ । यता प्रधानमन्त्री कप खेलेर दिल्ली पुगिसकेका अर्जुन अब नेपालमा हुने यी यस्तै घरेलु प्रतियोगिताको पर्खाईमा रहेका छन् ।