onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कमल सर्वोउत्कृष्ट खेलाडी : साहब उत्कृष्ट बलर र पृथु उत्कृष्ट ब्याट्सम्यान घोषित

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा सम्पन्न चौथों संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी विभागीय टोली एपीएफका बलर कमल सिंह एरी घोषित भए ।

प्रतियोगिताको उप – विजेता बनेको एपीएफका लागि उनले महत्वपूर्ण योगदान गरेका थिए । कमलले प्रतियोगितामा समूह चरणका ४ खेल तथा सेमिफाइनल र फाइनल गरी कुल ६ खेलबाट १० विकेट लिएका थिए ।

कमलले गण्डकीसँग ४, आर्मीसँग ३, पुलिससँग २ र आर्मीसँग १ विकेट लिएका थिए ।

यस्तै प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलम उत्कृष्ट बलर घोषित भएका थिए । उनले प्रतियोगितामा ५ खेलबाट ४५.४ ओभर बलिङ गर्दै ८ मेडन राखेर १ सय ५२ रन खर्चेर कुल १२ विकेट लिएका थिए ।

आर्मीलाई उपाधि जिताउन साहबले फाइनलमा एपिएफविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ३ विकेट लिएका थिए । त्यसअघि समूह चरणको खेलमा कर्णालीविरुद्ध ३ , प्रदेश १ विरुद्ध ४ , एपीएफविरुद्ध २ विकेट लिएका थिए । तर बागमतीविरुद्धको सेमिफाइनल खेलमा उनि विकेट विहिन रहेका थिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटा घोषित भए । प्रतियोगिताको सेमिफाइनल सम्म यात्रा तय गरेको बागमतीका लागि उनले राम्रो ब्याटिङ गर्ने क्रममा उनले ५ खेलबाट कुल २ सय १५ रन बनाएका थिए ।

यता प्रतियोगिताको उदायमान खेलाडी प्रदेश २ का विवेक यादव घोषित भए । उनले प्रतियोगितामा २ अर्शशतकसहित १ सय ६७ रन बनाए । जसअन्तर्गत उनले लुम्बिनीविरुद्ध ५१ रन , दोस्रोमा बागमतीविरुद्ध ६६ रन , तेस्रोमा सुदूरपश्चिमविरुद्ध ४१ र पुलिसविरुद्ध ९ रन बनाएका थिए ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५–२५ हजार तथा उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यता प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले उचालेको छ । शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । विजेता आर्मीले नगद १० लाख प्राप्त गर्दा उप – विजेता एपीएफले ५ लाख प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्