onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने पाँच खेलाडी

काठमाडौं (अनलाइन खेल खबर ) । चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको अहिले हामी फाइनलको पुर्वसन्धामा रहेका छौं । प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।

जहाँ दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । र आज हामी प्रतियोगिताको फाइनल अघि प्रतियोगितामा आफ्नो बलिङमार्फत प्रभाव छोड्न सफल खेलाडीको बारेमा चर्चा गर्न गईरहेका छौं ।

१. गौतम केसी – बागमती प्रदेशबाट खेल्ने गौतम केसीका लागि यस संस्करणको प्रधानमन्त्री कप आफैमा राम्रो रहयो । सेमिफाइनलसम्म यात्रा गरेको बागमतीका लागि उनले ३ खेल खेल । जसमा ३ ओभर मेडन राख्दै १ सय ४२ रन खर्चिएर ११ विकेट लिए ।

जसअन्तर्गत उनले प्रतियोगिताको पहिलो खेलमा प्रदेश २ विरुद्ध २९ रन खर्चिएर ४ विकेट हात पारेका थिए । यस्तै दोस्रो खेलमा लुम्बिनीविरुद्ध २ विकेट लिए भने तेस्रो खेलमा आर्मीविरुद्ध ५ विकेट हात पारेका थिए ।

२ . अभिनाश बोहरा : नेपाली राष्ट्रिय टिमका समेत नियमित सदस्य दायाँ हाते तिब्र गतिका बलर अभिनाश बोहराले प्रतियोगितामा १० विकेट लिईसकेका छन् ।

फाइनलको यात्रा तय गरेको विभागीय टोली एपीएफबाट खेल्ने बोहराले ४ खेलबाट ९ ओभर मेडन राख्दै १ सय १५ रन खर्चिएर १० विकेट लिएका छन् । जसमा उनको ईकोनोमि ३.०२ रहेको छ ।

प्रतियोगितामा उनले प्रदेश १ विरुद्ध ५ विकेट , गण्डकीविरुद्ध २ , आर्मीविरुद्ध १ र पुलिसविरुद्ध २ विकेट लिएका थिए ।

३. राम नरेश गिरी – ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेलेका राम नरेशका लागि पनि यस संस्करणको प्रधानमन्त्री कप सुखद रहयो ।

उनले प्रतियोगितामा राम्रो प्रदर्शन गरे । दायाँ हाते तिब्र गतिका बलर राम नरेशले प्रतियोगिताको दौरान समूहका ४ र सेमिफाइनल गरि कुल ५ खेलबाट १० विकेट हात पारे । कुल ४० ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै १ सय ९१ रन खर्चिएर उक्त विकेट लिएका थिए । जसमा उनको इकोनोमी ४.७७ रहेको थियो ।

उनले प्रतियोगितामा पुलिसविरुद्ध २ , सुदूरपश्चिमविरुद्ध ४ , प्रदेश २ विरुद्ध २ , लुम्बिनीविरुद्ध १ र सेमिफाइनलमा आर्मीविरुद्ध १ विकेट लिएका थिए ।

४. शाहब आलम – त्रिभुवन आर्मी क्लबबाट खेल्ने बायाँ हाते स्पिनर शाहब आलमले जारी प्रतियोगितामा ४ खेलबाट ९ विकेट लिँदै यस सूचीको चौथों स्थानमा रहेका छन् । ३.४२ इकोनिमीसहित बलिङ गरेका उनले उक्त विकेट लिने क्रममा १ सय २४ रन खर्चिएका छन् ।

उनले प्रतियोगिता अन्तर्गत कर्णालीविरुद्ध ३ , प्रदेश १ विरुद्ध ४ र एपीएफविरुद्ध २ विकेट लिदा बागमतीविरुद्धको खेलमा विकेट विहिन भएका थिए ।

५ . कमल सिंह एरी : एपीएफका मिडियम तीब्र गतिका बलर कमल सिंह एरीले हालसम्म ५ खेलबाट ९ विकेट लिईसकेका छन् । जसमा उनले उक्त विकेट लिने क्रममा ३.४१ इकोनिमीसहित १ सय ४७ रन खर्चिएका छन् ।

जस अन्तर्गत उनले गण्डकीविरुद्ध ४ , आर्मीविरुद्ध ३ र पुलिसविरुद्ध २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्