टि -१० लिगमा पूणेको विजयी सुरुवात : करण भने महँगो सावित
एजेन्सी । युएईमा जारी टि -१० लिगमा नेपालका अलराउन्डर करण केसी सम्मलित टिम पूणे डेभिल्सले विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा डेभिल्सले डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गरेको छ ।
बिहिबार राती भएको खेलमा डेकनले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्यलाई डेभिल्सले ४ बल बाँकी रहदै ३ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई प्रतियोगितामा विजयी सुरुवात दिलाउने क्रममा ब्याटिङमा टिमका लागि ओपनर ब्याट्सम्यान केन्नर लुइसले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले २८ बलमा ३ चौका र ६ छ्क्कासहित ५७ रनको योगदान गरे ।
यस्तै चाडविक वाल्टनले १८ रन बनाउदा अर्का ओपनर ब्याट्सम्यान टोम कोहलर-क्याडमोरले १२ रन बनाएका थिए ।
बलिङतर्फ डेकनका लागि सुनिल नारायण , रवि रामपाल र जहुर खानले १-१ विकेट हात पारे ।
त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको डेकनले निर्धारित १० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
उसका लागि तल्लो क्रममा ब्याटिङ गरेका आजम खानले अविजित रहदै ३७ रन बनाए । मात्र १३ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १ चौका र ४ छ्क्कासमेत प्रहार गरे ।
यस्तै टिमका लागि क्यामरन डेलपोर्टले २५ रन बनाउँदा प्रशान्त गुप्ताले १७ रन बनाएका थिए ।
बलिङतर्फ डेभिल्सका लागि नासिर हुसेनले तथा मुनिस अन्सारीले २ विकेट हात पारे । यता नेपालका करण भने महँगो सावित हुन् पुगे । मात्र १ ओभर बलिङ गरेका उनले त्यस क्रममा १७ रन खर्चिए ।