onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सोमपालआवद्ध मराठा अरेवियन्सको टि -१० लिगमा विजयी सुरुवात

एजेन्सी । युएईमा जारी टि – १० लिगमा नेपालका अलराउन्डर सोमपाल कामी आबद्ध टिम मराठा अरेवियन्सले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मराठाले नर्थन वारियर्सलाई ५ विकेटले पराजित गर्यो ।

खेलमा नर्थन वारियर्सले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्यलाई मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

रोमान्चक बनेको खेलमा टिमलाई जिताउन मराठाका ओपनर विकेट किपर ब्याट्सम्यान अब्दुल शकुरले सर्वाधिक ठूलो पारी खेले ।

मात्र २८ बलको सामना गरेका उनले ७ चौका र ५ छ्क्कासहित ७३ रनको योगदान गरे । यस्तै टिमका लागि मोहम्मद हफिजले १९ रन तथा कप्तान मोसाददेक हुसेनले ९ रनको योगदान गरे ।

बलिङतर्फ वारियर्सका लागि फेबियन एलनले २ तथा महेश थेक्ष्णा र रायद इमृतले १-१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नर्थन वारियर्सले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

उसका लागि लेन्डल सिमन्सले अर्धशतकीय पारी खेले । अविजित रहेका उनले ३१ बलको सामना गर्दै ५४ रन बनाए । त्यस क्रममा उनले ७ चौका र १ छ्क्कासमेत प्रहार गरे ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान ब्यान्डन किंगले २९ तथा कप्तान निकोलस पूरनले १९ र अविजित रहेका रोभम्यान पोवेलले २२ रन जोडे ।

बलिङतर्फ मराठाका लागि मुख्तर अलिले १ विकेट हात पारे । यता नेपालका सोमपालले २ ओभर बलिङ गर्दै २८ रन खर्चिएका थिए ।

अब मराठाले प्रतियोगितामा शनिबार दिल्ली बुल्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्