onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं ( अनलाइन खेल खबर ) । साविकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ काठमाडौंमा जारी चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा फाइनल पुग्ने क्रममा एपीएफले बुधबार नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्यो । अब एपीएफले उपाधिका लागि शनिबार बागमती प्रदेश र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ ।

यता खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ४ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पुलिस ४९.२ ओभरमा अलआउट हुँदै १ सय ७३ रनमा सिमित हुन् पुगेपछि एपीएफलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

सम्मानजनक योगफललाई पछ्याएको भएपनि पुलिसको सुरुवातबाटै खराब प्रदर्शन रहयो । त्यस क्रममा पहिलो ओभरको दोस्रो बलमा टिमको स्कोर १ न हुँदा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल सुन्य रनमा आउट हुन् पुगे । त्यसपछि लगत्तै अर्का ओपनर सुनिल धमला पनि ३ रन बनाएर आउट हुन् पुग्दा टिम सुरुमै दबाबमा आएको थियो ।

त्यसपछि ४.१ ओभरमा टिमको स्कोर १५ रन हुँदा टिमले अमित श्रेष्ठलाई तेस्रो विकेटका रुपमा गुमायो । भुवन कार्कीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन् पुगेका उनले ११ बलमा २ चौकासहित ८ रन जोडे ।

अमित आउट भएपछि भने पुलिसका लागि दिपेन्द्र सिंह एरी र अनिल शाहले पारीलाई अगाडि बढाए । त्यस क्रममा यी दुई बीच चौथों विकेटका लागि ४६ रनको साझेदारी हुन् पुगेको थियो । १९.५ ओभरमा टिमको स्कोर ६१ रन हुँदा कमल सिंह एरीको बलमा आउट हुनुअघि अनिलले ४४ बलमा ३ चौकासहित २१ रनको योगदान गरेका थिए ।

त्यसपछि दिपेन्द्रले ६९ बलमा २ चौकासहित ३३ रन बनाउँदा पवन सरार्फले ४० रन बनाएका थिए । यस्तै अत्यमा राशिद खानले ३४ रन , सागर ढकालले ११ र आरिफ शेखले १६ रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले ४ तथा कमल सिंह एरी , शरद भेषवाकर र अभिनाश बोहराले समान २ विकेट हात पारेका थिए ।

त्यसअघि त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

एपीएफले सम्मानजनक योगफल बनाउने क्रममा उसका लागि सङखर रानाले सर्वाधिक ठूलो पारी खेले । ९६ बलको सामना गरेका उनले ४ चौकासहित ४४ रनको योगदान गरे । यस्तै टिमका लागि भुवन कार्कीले पनि महत्वपूर्ण पारी खेल्ने क्रममा ५६ बलको सामना गर्दै १ चौका र २ छक्काको सहयोगमा ४२ रनको योगदान गरेका थिए ।

यी दुई ब्याट्सम्यान बाहेक एपीएफका लागि सन्दीप जोराले ३४ रन , ओपनर ब्याट्सम्यान सुवाश खकुरेलले १९ रन , कप्तान शरद भेषवाकरले १८ रन , कमल सिंह एरीले १९ र अभिनाश बोहाराले ११ रन बनाएका थिए ।

बलिङतर्फ नेपाल पुलिस क्लबका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ३ विकेट हात पारे । यस्तै ललित राजबम्शी र दिपेन्द्र सिंह एरीले समान २ विकेट हात पार्दा सागर ढकाल र राशिद खानले १- १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्