onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राशिद चम्किँदा आयरल्यान्डमाथि अफगानिस्तानको क्लिन स्विप

एजेन्सी – युएईमा भएको आयरल्यान्ड र अफगानिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले क्लिन स्विप गरेको छ ।

सिरिज क्लिन स्पिप गर्ने क्रममा सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले आयरल्यान्डलाई मंगलबार ३६ रनले पराजित गर्यो । त्यसअघि पहिलो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई १६ रन र दोस्रो खेलमा ७ विकेटले पराजित गरेको थियो ।

यता तेस्रो खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ४७.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ३० रनमा सिमित हुन् पुग्यो ।

उसका लागि पल स्टर्लिङले शतकीय पारी खेले । १ सय १९ बलको सामना गरेका उनले ९ चौका र ६ छ्क्कासहित १ सय १८ रन बनाए ।

यस्तै टिमका लागि ह्यारी टेक्टरले २४ तथा विकेट किपर ब्याट्सम्यान लोर्कान टकरले २२ रनको योगदान गरेका थिए ।

बलिङमा अफगानिस्तानका राशिद खानले ४ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले ९ ओभर बलिङ गर्दै मात्र २९ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै मुजिव उर – रहमानले २ तथा मोहम्मद नाबी र नविन उल हकले समान १ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ६६ रन बनाएको थियो।

ब्याटिङमा अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक ठूलो पारी खेले । ४० बलको सामना गरेका उनले ३ चौका र ३ छ्क्काको सहयोगमा ४८ रनको योगदान गरे । भने कप्तान अस्घर अफघानले ४१ र मोहम्मद नाबीले ३२ तथा गुलबदिन नईवले ३६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ आयरल्यान्डका लागि क्याग योङ र सिमी सिंहले ३-३ विकेट हात पार्दा एन्डी म्याकब्राइन,जोशुआ लिटिल र ह्यारी टेक्टरले पनि १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्