onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने आठ खेलाडी

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा अहिले चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता जारी रहेको छ । जस अन्तर्गत समूह चरणका खेलहरु सकिसकेका छन् ।

सात प्रादेशिक सहित ३ विभागीय टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । जसमा एपीएफले नेपाल पुलिस क्लबको सामना गर्दा बागमतीले त्रिभुवन आर्मीको सामना गर्दैछ ।

सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ । भने फाइनल खेल शनिबार हुँदैछ । यी सबै खेलहरु टियु मैदानमा हुनेछ । यसअघि समूह चरणका खेलहरु टियु र मुलपानी क्रिकेट मैदानमा भएका थिए ।

पहिलो सेमिफाइनल अन्तर्गत समूह ए को विजेता एपीएफले समूह बी को उप – विजेता नेपाल पुलिससँग खेल्नेछ । भने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता बागमती प्रदेशले समूह ए को उप – विजेता त्रिभुवन आर्मीसँग खेल्नेछ ।

यता प्रतियोगिता समूह चरणमा २० वटा खेलहरु भए । जसमा औशत रुपमा रन बने । केही प्रतिस्पर्धात्मक खेलहरु भन्दा धेरै जस्तो एकतर्फी खेल हुन् पुगे । ब्यक्तिगत रुपमा केही खेलाडीहरु आफ्नो ब्याटबाट मन जित्न सफल भए भने केहि खेलाडीले उत्कृष्ट लय देखाए ।

यसै सन्दर्भमा हामी यहाँ समूह चरणमा सर्वाधिक रन बनाउने खेलाडीहरुको चर्चा क्रमशः गर्दैछौं ।

१ .पृथु बास्कोटा : यो नाम नेपाली क्रिकेटमा नौलो नाम भने होइन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय टिमसम्मको ढोका ढक्काईसकेका पृथु पछिल्लो समय लयबाट भड्किएका थिए । निकै सम्भावना बोकेको खेलाडीको रुपमा चित्रण गरिएका यिनै खेलाडीले पछिल्लो समय न्याय गर्न सकिरहेका थिएनन् ।

तर यसपटक उनका लागि र उनका सुभचिन्तकलाई खुशीको बाहर बनेर आएको छ । चौथों संस्करणको प्रधानमन्त्री कप उनका लागि महत्वपूर्ण कोशे ढुङ्गा सावित हुँदैछ । यु -१९ को कप्तानी समेत गरिसकेका पृथुको यो प्रदर्शनले अब राष्ट्रिय टिमको बन्द प्रशिक्षणको नजिक समेत पुर्याएको छ । र करिव ५ वर्षपछि राष्ट्रिय टोलीमा फर्किने राम्रो अवसर पनि ।

राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीबाट खेलेका पृथुले समूह चरणमा कुल ४ खेलबाट २ सय १४ रन बनाईसकेका छन् । जसमा २ अर्धशतक समेत सामेल रहेको छ ।

उनको उत्कृष्ट लयसँगै बागमतीले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ । त्यसैको फलस्वरुप टिम बागमती समूह बी को विजेताको हैसियतबाट सेमिफाइनल पुगेको छ । अब बागमतीले सेमिफाइनलमा आर्मीको सामना बिहिबार गर्नेछ ।

जसरी बागमती प्रतियोगितामा अगाडी बढेको छ । त्यसरी पृथुले आफुलाई ढालेका छन् । चोटपछि राष्ट्रिय टोलीमा फर्किन प्रयासरत रहेका पृथुलाई यो प्रदर्शनले ठूलो आत्मबल दिएको छ ।

उनले प्रतियोगितामा उक्त रन बनाउने क्रममा पहिलो खेल पुलिसविरुद्ध अविजित रहदै ४८ रन बनाएका थिए । साविकको विजेता समेत रहेको पुलिसविरुद्ध बागमतीले ७ विकेटले पराजित गर्दा उनको पारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

त्यसपछि उनले दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ८४ रनको पारी खेले । जुन उनको प्रतियोगिताकै हालसम्मकै सर्वाधिक उच्च रन समेत हो । पहिलो र दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गरेका उनले सोही लयलाई तेस्रो खेलमा पनि निरंतरता दिए । तेस्रो खेल जुन प्रदेश २ सँग रहेको थियो । जसमा उनले अर्धशतक पूरा गर्ने क्रममा ५३ रनको योगदान गरे भने समूहको अन्तिम खेलमा उनले लुम्बिनी प्रदेशविरुद्ध २९ रन बनाएका थिए ।

२.सुनिल धमला : नेपालका लागि राम्रो ओपनरका रुपमा सम्भावना देखाएका सुनिल धमलालाई पनि यसपटकको प्रधानमन्त्री कप उल्लासमय बनेर आएको छ । विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका धमलाले जारी प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित १ सय ८७ रन बनाईसकेका छन् ।

प्रतियोगितामा भने उनको राम्रो सुरुवात हुन् सकेको थिएन् । पुलिस बागमतीसँग पराजित हुँदा उनले मात्र १७ रन बनाएका थिए । तर उनि हतोत्साहित भएनन् । पहिलो खेलको गल्ती उनले दोस्रो खेलमा दोराएनन् । त्यसैको परिणाम उनले दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ५३ रन बनाए ।

प्रतियोगितामा पहिलो अर्धशतकीय पारी खेलेपछि थप उत्साहित देखिएका धमलाले त्यसको भोलिपल्ट टियुमै शतकीय पारी खेले । सन् २०१७ देखि राष्ट्रिय टोलीबाट बाहिर रहेका उनलाई यस पारीले पक्कै पनि आशा भने पलाएको छ ।

राष्ट्रिय टिममा रहँदा कम मौका पाएका धमलालाई अहिले आफुलाई प्रमाणित गर्ने अवसर पनि रहेको छ । जुन उनिमा देख्न पाईएको छ । त्यो आफैमा सकारात्मक पक्ष पनि हो । यसबीचमा उनलाई आलोचना गर्नेहरु पनि तारिफ गर्न बाध्य भएका छन् ।

उनले प्रतियोगितामा शतक प्रहार गर्ने क्रममा १ सय ४ रन बनाएका थिए । यस्तै समूहको अन्तिम खेलमा भने उनी चल्न सकेनन् । प्रदेश २ विरुद्धको खेलमा उनले मात्र १३ रन बनाए ।

३. सौरभ खनाल : लामो लामो सट प्रहार गर्न माहिर सौरभको ब्याटबाट यसपटक रन बन्यो ।लुम्बिनी प्रदेशलाई खेलेका उनि सबैको केन्द्रमा परे । टिमले पनि सोचे अनुरुप भन्दा राम्रो खेल्यो । झन्डै झन्डै सेमिफाइनल पुग्न लागेको लुम्बिनीका लागि उनले राम्रो भूमिका निर्वाह गरे ।
उनले प्रतियोगिता भर १ सय ८२ रन बनाए । जसमा १७ चौका र ९ छ्क्कासमेत सामेल रहेको छ । उनले पहिलो खेलमा प्रदेश २ सँग ५६ रन , दोस्रो खेलमा पुलिसविरुद्ध ७४ रन , तेस्रोमा सुदूरपश्चिमविरुद्ध १८ र बागमतीविरुद्ध ३४ रन बनाएका थिए ।

४. विवेक यादव : प्रदेश २ बाट प्रधानमन्त्री कप खेलेका विवेक यादवका लागि प्रतियोगिता सुखद रहयो । यु -१९ राष्ट्रिय टोलीका सदस्य समेत रहेका उनले प्रतियोगितामा २ अर्शशतकसहित १ सय ६७ रन बनाए । जसअन्तर्गत उनले लुम्बिनीविरुद्ध ५१ रन , दोस्रोमा बागमतीविरुद्ध ६६ रन , तेस्रोमा सुदूरपश्चिमविरुद्ध ४१ र पुलिसविरुद्ध ९ रन बनाएका थिए ।

५. विनोद भण्डारी : विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी सर्वाधिक धेरै रन बनाउँने खेलाडीको सूचीमा हालसम्म पाँचौ स्थानमा रहेका छन् ।

जसमा उनले एक शतकसहित १ सय ५७ रन बनाएका छन् । उनले प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा गण्डकी प्रदेशसँगको उद्घाटन खेलमा १ सय ११ रनमा अविजित रहेका थिए । हालसम्म जारी प्रतियोगितामा विनोद र सुनिल धमलाले मात्र शतकीय पारी खेलेका छन् ।

पहिलो खेलमा सानदार ब्याटिङ गरेका विनोदले दोस्रो खेलमा कर्णालीविरुद्ध ४१ रन बनाएका थिए । प्रदेश १ सँगको तेस्रो खेलमा भने उनी चल्न सकेनन् । उनी मात्र ५ रनमा आउट हुन् पुग्दा समूहको अन्तिम खेलमा उनले एपीएफविरुद्ध सुन्य रनमा पभेलियन फर्किएका थिए ।

६ . मोहम्मद आशिफ शेख : युवा ब्याट्सम्यान मोहम्मद आशिफ शेख यस सूचीको छ्ठौं स्थानमा रहेका छन् । विभागिय टोली एपीएफबाट खेल्ने आशिफले ३ खेलबाट १४४.०० स्टाईक रेटसहित २ अर्शशतकको मद्दतमा १ सय ४४ रन बनाईसकेका छन् ।

जसअन्तर्गत प्रदेश १ विरुद्ध ५९ रन , गण्डकीविरुद्ध ७८ रन र आर्मीविरुद्ध ७ रन बनाएका थिए ।

७ . हरि सङ्खर शाह – प्रदेश २ बाट प्रतिनिधित्व गर्ने हरि सङ्खर शाहले प्रतियोगितामा ४ खेलबाट २ अर्धशतकसहित १ सय ४१ रन बनाए । उनले प्रतियोगितामा पहिलो खेलमा लुम्बिनीविरुद्ध २२ रन बनाएका थिए । त्यसपछि दोस्रो खेलमा बागमतीसँग ६ रनमा आउट हुन् पुगेका उनले त्यसपछिका दुई खेलमा अर्धशतकीय पारी खेलेका थिए । जसअनुसार उनले सुदूरपश्चिम र पुलिसविरुद्ध क्रमशः ६० र ५३ रन बनाएका थिए ।

८. आदिल खान : बागमती प्रदेशका ओपनर ब्याट्सम्यान आदिल खानले जारी प्रतियोगितामा ४ खेलबाट १ सय ३५ रन बनाउँदै हालसम्म सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा आठौं स्थानमा रहेका छन् ।

उनले प्रतियोगितामा पहिलो खेलमा पुलिसविरुद्ध १२ रन बनाउँदा दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ६३ रन , प्रदेश २ विरुद्ध ५ रन र लुम्बिनीविरुद्ध ५५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्