onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपको पुरस्कार राशी घट्यो

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार राशी घोषणा भएको छ ।

प्रतियोगिताको सेमिफाइनल अघि मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान ) को केन्द्रिय कार्यसमिति बैठकमार्फत प्रतियोगिताको विजेता टोलीलाई नगद १० लाख र उप – विजेता टोलीलाई ५ लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको छ ।

क्यानले घोषणा गरेको पुरस्कार राशी अघिल्लो संस्करणको भन्दा आधा रहेको छ । अघिल्लो संस्करणमा विजेताले २० लाख र उप – विजेताले १० लाख प्राप्त गरेको थियो ।

त्यसबेला क्यान आईसीसीबाट निलम्बन भएको हुँदा स्वत राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले नै यस प्रतियोगितालाई आयोजना गर्दै आएको थियो । तर आईसीसीबाट सर्तसहित फुकुवा भएपछि क्यानको नयाँ कार्यसमितिले आयोजना गरेको प्रतियोगिताको पुरस्कार राशीमै कटौती भएको छ।

त्यस्तै सेमिफाइनलमा पुगेका प्रत्येक टोलीले ५० हजार पाउने छन् । भने विधागततर्फ पनि यस संस्करणमा कटौती गरिएको छ । अघिल्लो संस्करणमा प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने भनिएको भएपनि अन्ततः ब्यबस्थापनको जिम्मेवारी प्राप्त गरेको नेपालयले राखेपलाई दोष लगाउँदै ५० हजारनै दिएको थियो ।

भने उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ३०-३० प्रदान गरिएको थियो । यस वर्ष खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् । यता समूह चरणमा प्लेयर अफ द म्याच हुँदा २५ सय प्राप्त गरेका खेलाडीले अब भने ५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगामी फेब्रुअरी १ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यसपछि नेपाली क्रिकेट टोली कतार जाने भएको छ । कतार क्रिकेट एसोसिएसनको निमन्त्रणामा नेपाल र कतारबीच अन्तर्राष्ट्रिय टि- ट्वान्टी सिरिज हुनेछ । कतार स्पोर्ट्स डे को अवसर पारेर गर्न लागिएको उक्त सिरिज
फेब्रुअरी ९ देखि १२ सम्म चल्ने छ ।

यता प्रधानमन्त्री कपको सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ । जसमा बुधबार एपीएफले पुलिसको सामना गर्दा बिहिबार बागमतीले आर्मीको सामना गर्नेछ ।प्रतियोगिताको फाइनल भने शनिबार हुनेछ । यी सबै खेल टियु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्