onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफले सेमिफाइनलमा पुलिसको सामना गर्ने

काठमाडौं ( अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफले काठामाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेसँगै सेमिफाइनलमा एपीएफको भेट पुलिससँग पक्का भएको हो । समूह ए मा रहेको एपीएफले समूहका सबै खेलमा जित हासिल गर्दै समूह विजेताको हैसियतबाट सेमिफाइनल पुग्दा पुलिस भने समूह बी को उप –विजेता हुँदै सेमिफाइनल पुगेको हो ।

अब यी फाइनल प्रवेशका लागि बुधबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहिबार बागमतीले आर्मीसँग खेल्नेछ ।

यता खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ४१ रनको विजयी लक्ष्यलाई पछ्याएको आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ३४ रनमा सिमित हुन् पुगेपछि एपीएफलाई समूह विजेता बन्न प्रयाप्त बन्यो ।

आर्मीका लागि ओपनर ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ठूलो पारी खेले । ७६ बलको सामना गरेका उनले ८ चौकासहित ४५ रन बनाए । यस्तै लोकेश बमले २१ रन बनाउँदा रोहित पौडेलले ३० रन , भिम सार्कीले २७ रन , राजेश पुलामीले ३३ रन , विक्रम शोबले २८ रन र अविजित रहेका आकाश चन्दले १६ रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका लागि कमल सिंह एरीले ३ तथा भुवन कार्कीले २ विकेट हात पार्दा अभिनाश बोहराले १ विकेट लिएका थिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४९.४ ओभरमा अल आउट हुँदै २ सय ४० रन बनाएको थियो ।
उसका लागि युवा ब्याट्सम्यान सुमित महर्जनले सर्वाधिक ठूलो पारी खेले । ६८ बलको सामना गरेका उनले ५ चौका र २ छ्क्कासहित ४६ रनको योगदान गरे । यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेलले ३८ रनको योगदान गरे । ८२ बलको सामना गरेका उनले त्यस क्रममा ६ चौका प्रहार गरेका थिए ।

यी दुई बाहेक टिमका लागि कप्तान शरद भेषावकरले २४ तथा सन्दीप जोराले २८ रन , वसन्त रेग्मीले २० र अमर सिंह रौटेलाले २६ रन बनाएका थिए ।
बलिङतर्फ त्रिभुवन आर्मीका लागि हरी चौहान एक्लैले ५ विकेट लिएका थिए । ९.४ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ६० रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै शाहब आलमले २ तथा आकाश चन्द , सुशन भारी र विक्रम शोबले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्