onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं ( अनलाइन खेल खबर ) । साविकको विजेता नेपाल पुलिस क्लब काठमाडौंमा जारी चौथों सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा पुलिसले सोमबार प्रदेश २ लाई ४ विकेटले पराजित गर्यो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ७० रनको विजयी लक्ष्यलाई पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि मध्य क्रममा ब्याट्सम्यान अनिल शाहले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ६९ बलमा ४ चौकाको सहयोगमा ४७ रन बनाए । त्यसअघि उसका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५५ बलको सामना गर्दै ३ चौका र १ छक्कासहित ४३ रन बनाएका थिए । भने सुनिल धमलाले १३ रन , अमित श्रेष्ठले १७ रन , दिपेन्द्र सिंह एरीले १७ रन र अविजित रहेका कप्तान मन्जित श्रेष्ठले १२ बनाएका थिए ।

बलिङतर्फ प्रदेश २ का लागि विवेक यादव र कुमार थापाले समान ३ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभर पूरै खेल्दै १ सय ६९ रन बनाएको थियो । टिमले सम्मानजनक स्कोर बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान हरी संखर शाहले अर्धशतकीय पारी खेले । ८४ बलको सामना गरेका उनले ५ चौका र १ छक्कासहित ५३ रनको योगदान गरे ।

यस्तै टिमका लागि आदील अन्सारीले १५ तथा कप्तान सुरज कुर्मीले १३ र विशाल सुस्लिङले १२ रन बनाउँनु बाहेक अन्यले उलेख्य योगदान गर्न सकेनन् ।

बलिङतर्फ पुलिसका लागि ललित राजबम्शीले सर्वाधिक ४ विकेट हात पारे । आफ्नो स्पेलको ८ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ३७ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिएका थिए ।

यो हारसँगै प्रदेश २ अंकविहिन हुँदै प्रतियोगिताको समापन गरेको छ । महत्वपूर्ण खेलमा प्रदेश २ लाई पराजित गरेको पुलिस समूह बी को उप –विजेता बन्दै सेमिफाइनल पुगेको छ । यता समूहको विजेताको हैसियतबाट बागमती आईतबारनै सेमिफाइनल पुगेको हो । अब सेमिफाइनलमा पुलिसले समूह ए को विजेतासँग बुधबार खेल्नेछ भने बागमतीले समूह ए को उप –विजेता टोलीसँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्