onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बागमतीको लगातार तेस्रो जित

काठमाडौं । बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्ने क्रममा बागमतीले शुक्रबार प्रदेश २ लाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ८० रनको विजयी लक्ष्यलाई बागमतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमको जितमा पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । अविजित रहेका उनले ७५ बलमा ४ चौका र १ छ्क्कासहित ५३ रन बनाए । जारी प्रतियोगितामा यो उनको लगातार दोस्रो अर्धशतक हो ।

यस्तै टिमका लागि बिभत्सु थापाले ४७ रन जोड्दा ओपनर ब्याट्सम्यान आकाश थापाले ३२ रन ,इशान पाण्डेले १५ रन , आदिल खानले ५ रन र कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ प्रदेश २ का लागि हरिशंकर शाहले २ विकेट लिए भने विशाल सुसलिङ र कुमार थापाले पनि १-१ विकेट लिएका थिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८ .२ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

उसका लागि विवेक यादवले सर्वाधिक ठूलो पारी खेले । ७४ बलको सामना गरेका उनले ३ चौका र ३ छ्क्कासहित ६६ रनको योगदान गरे ।
यस्तै कुमार थापाले २२ रन, राहुल प्रताप सिंहले १८ रन बनाउँदा सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनको योगदान गरेका थिए ।

बलिङतर्फ बागमतीका लागि गौतम केसीले ४ विकेट लिए । भने रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान १ विकेट लिएका थिए ।

यो जितसँगै समूह बी मा रहेको बागमती ३ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । र सेमिफाइनल नजिक पुगेको छ । यता प्रदेश २ को भने लगातार दोस्रो हार हो । यसअघि प्रदेश २ लुम्बिनी प्रदेशसँग पराजित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्