onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुख्य प्रशिक्षक ह्वाटमोरबाट मैदानको अवलोकन

काठमाडौं (अनलाइन खेल खबर ) । माघ ४ गते नेपाल आईपुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले काठमाडौंमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानलाई बिहिबार अवलोकन गरेका छन् ।

नेपाल आईपछि केहि दिन क्वारेन्टाइनमा रहेका उनले बिहिबार नेपाली सञ्चारकर्मीसँग भलाकुसारी समेत गरेका थिए । त्यसपछि उनि टियु पुगेका थिए ।

टियुपछि उनि मुलपानी पुगेका थिए । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलसँग उनि कर्णाली प्रदेश र एपीएफको खेल सकिएको ठिक सोही समयमा त्यहाँ पुगेका थिए ।

करिव आधा घन्टा जति मुलपानी क्रिकेट मैदानमा रहेका उनले क्युरेटर अजय पाण्डेसँग मैदानको वस्तुस्थिति बुझेका थिए । त्यसपछि उनले राष्ट्रिय क्रिकेट टिमका फिजियो विक्रम न्यौपानेसहित त्यहाँ रहेका अन्य क्यानका पदाधिकारीसँग भलाकुसारी गरेका थिए ।

अब उनले अहिले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मैदानमै आएर नियाल्ने छन् ।

ह्वाटमोरको आगमनसँगै खेलाडी , पदाधिकारी लगायत सम्बधित सबै उत्साहित देखिएका छन् । लामो इतिहास बोलेको नेपाली क्रिकेटमा उनि हालसम्मकै उच्च हैसियतका प्रशिक्षक समेत हुन् ।

६६ वर्षीय अष्ट्रेलियन प्रशिक्षक ह्वाटमोरको मातहतमा रहेको श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि उचालेको थियो ।

श्रीलंकापछि उनले बंगलादेश टोलीलाई पनि सम्हालेका थिए । सन् २००३ देखि २००७ सम्म बंगलादेश टोलीको मुख्य प्रशिक्षक रहेका उनले त्यस क्रममा बंगलादेशलाई पनि राम्रो स्थितिमा पुर्याएका थिए । त्यस बेला बंगलादेशले भारत , दक्षिण अफ्रिकाजस्ता टिमलाई हराएको थियो ।

श्रीलंका र बंगलादेशपछि उनले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत कोलकता नाइट राइडर्ससँग पनि आबद्ध रहेर काम गरे । सन् २०१० र २०११ को सिजनमा उनि कोलकताको प्रशिक्षक रहेका थिए ।

त्यसपछि उनि पाकिस्तान र जिम्बावे टिमको मुख्य प्रशिक्षक भएर काम गरे । उनले जिम्बावे टोलीलाई करिब दुई वर्ष जति हेरे । सन् २०१६ देखि २०१८ सम्म जिम्बाबे टोलीमा रहेका ह्वाटमोर नेपालसँग जोडिनु अघि सिंगापुर टिमसँग आवद्ध रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्