onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफको लगातार दोस्रो जित

काठमाडौं ( अनलाइन खेल खबर ) । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले बिहिबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । यसअघि एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश १ लाई १ सय ३५ रनले पराजित गरेको थियो ।
यता खेलमा गण्डकीले प्रस्तुत गरेको १ सय ७ रनको विजयी लक्ष्यलाई एपीएफले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई जिताउन मोहम्मद आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । सर्वाधिक ठूलो पारी खेलेका उनले ५६ बलको सामना गर्दै ५ चौका र ६ छक्कासहित ७८ रन बनाएका थिए । यो जारी प्रतियोगितामा उनको लगातर दोस्रो अर्धशतक समेत हो । यसअघि उनले पहिलो खेलमा प्रदेश १ विरुद्व ५९ रन बनाएका थिए ।

यस्तै टिमका लागि सुमित महर्जनले १८ रन बनाउँदा कप्तान शरद भेषवाकर ५ रनमा अविजित रहे । त्यसअघि ओपनर ब्याट्सम्यान सुवाश खकुरेल सुन्य रनमा आउट हुँदा रित गौतम ले पनि खाता खोल्न सकेका थिएनन् ।
बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान २-२ विकेट लिएका थिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

टिमका लागि ओपनर ब्याट्सम्यान समिर कडेलले सर्वाधिक ठूलो पारी खेले । १ सय १४ बलको सामना गरेका उनले कमल सिंह एरीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट हुनुअघि २ चौकासहित ३६ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर अर्जुन कुमाल भने यस खेलमा शून्य रनमा आउट हुन् पुगे ।

४.४ ओभरमा टिमको स्कोर १ रन हुँदा उनि कमल सिंह एरीको बलमा आउट हुन् पुगेका थिए । यस्तै टिमका लागि विष्णु पाण्डे र दिपेश खत्रीले समान १५ रन बनाउँदा दिनेश बुढा मगरले १२ रन थपेका थिए ।

बलिङतर्फ एपीएफका कमल सिंह एरी एक्लैले ४ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै ११ रन खर्चिएर उक्त विकेट हात पारेका थिए । यस्तै अभिनाश बोहारा र शरद भेषवाकरले २-२ विकेट हात पार्दा किशोर महतोले १ विकेट लिएका थिए ।

यो जितसँगै समूह ए मा रहेको एपीएफले अंकतालिकामा ४ अंक जोडेको छ । यता एपीएफसँग पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिको छ । गण्डकीले समूह चरणका ४ खेल मध्य ३ खेलमा हार व्यहोर्दा १ खेल भने जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्