onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुदूरपश्चिममाथि पुलिसको सहज जित

काठमाडौं ( अनलाइन खेल खबर ) । काठमाडौंमा जारी चौथों संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविकको विजेता नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा पुलिसले बुधबार सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ११ रनको विजयी लक्ष्यलाई पछ्याएको पुलिसले उक्त चुनौतीलाई १७ ओभरमा मात्विर १ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई जिताउन ओपनर ब्याट्सम्यानद्वय सुनिल धमला र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । जस अन्तर्गत ५७ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५३ रन बनाए भने अविजित रहेका कुशलले ४४ बलमा ९ चौका र १ छक्कासहित ५१ रनको योगदान गर्दा अमित श्रेष्ठ १ रनमा अविजित रहे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

निकै खराब ब्याटिङ गरेको सुदूरपश्चिमका लागि उप – कप्तान खडक बोहराले सर्वाधिक ठूलो पारी खेलेका थिए । ५३ बलको सामना गरेका उनले ८ चौकासहित ४० रनको योगदान गरे ।

यस्तै टिमका लागि संजु दमाईले ३५ रन तथा अरुण एरीले १३ रन र अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टिम झिनो लक्ष्यमा रोकिएको थियो ।

सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपाल पुलिस क्लबका सागर ढकाल र दीपेन्द्र सिंह एरीले समान ४ विकेट लिएका थिए ।

समूह बी मा रहेको नेपाल पुलिसको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा पुलिस बागमती प्रदेशसँग ७ विकेटले पराजित भएको थियो । यता पुलिससँग पराजित भएको सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग १ सय ८० रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्