onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कर्णालीलाई ऐतिहासिक जित

काठमाडौं ( अनलाइन खेल खबर ) । कर्णाली प्रदेशले प्रधानमन्त्री कपमा ऐतिहासिक जित हासिल गर्न सफल भएको छ ।

ऐतिहासिक जित हासिल गर्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । यो कर्णालीको प्रधानमन्त्री कपमा पहिलो जित हो ।

खेलमा गण्डकीले प्रस्तुत गरेको २ सय ५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णालीले उक्त विजयी लक्ष्यलाई ३६.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई जिताउन हिमान्सु शाहीले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ६० बलको सामना गर्दै ७ चौकासहित ६८ रनमा योगदान गरे ।

यस्तै विपिन रावलले ४९ रन बनाए । ४५ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्कासहित उक्त रन बनाएका थिए ।

यस्तै राज शाहले ३२ रन तथा हेमन्त ओलिले २९ रन बनाएका थिए ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि विपिन खत्रीले ४ तथा सुबास भण्डारीले १ विकेट लिएका थिए

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ४२.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

उसका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले । ६४ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५३ रनको योगदान गरे ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ४६ रन बनाएर आउट हुन् पुगेका थिए । १ सय ६ बलको सामना गरेका उनले ६ चौकासहित ४६ रन बनाए । यी दुई ब्याट्सम्यान बाहेक टिमका लागि कप्तान विपिन खत्रीले ३२ रनको योगदान गर्दा विशाल पौडेलले १५ रन र दिनेश बुढा मगरले १० रन बनाएका थिए ।

बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ३ विकेट हात पारे । ६.३ ओभर मात्र बलिङ गरेका उनले २५ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै अनुज चुनारा र दिवान पुनले २-२ विकेट हात पार्दा कप्तान रविन्द्र शाहीले पनि १ विकेट लिएका थिए ।

यो जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ ।समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो । गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्