नेपाल आईपुगे मुख्य प्रशिक्षक ह्वाटमोर
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आईपुगेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान ) का अनुसार उनि आईतबार नेपाल आईपुगेका हुन् । र अहिले उनि क्वारेन्टाइनमा बसेका छन् । केहि दिन क्वारेन्टाइनमा बसेपछि उनि जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अवलोकन गर्न जोडिने छन् ।
सन् १९५४ मा श्रीलंकामा जन्मिएका ह्वाटमोरले क्रिकेटिङ करियर भने अष्ट्रेलियाबाट सुरुवात गरेका थिए । त्यस क्रममा उनले अष्ट्रेलियाबाट ७ टेस्ट समेत खेलेका थिए ।
त्यसपछि उनले प्रशिक्षकमा हात हाले । विश्व क्रिकेटमा आफ्नो प्रशिक्षण शैलीबाट चर्चा बटुलेका उनले सुरुमा श्रीलंकालाई प्रशिक्षण गराए । जसमा श्रीलंकाले विश्वकपसहित क्रिकेटमा ठूलो सफलता हात पार्यो ।
जस अन्तर्गत उनको प्रशिक्षणमा सन् १९९६ मा श्रीलंकाले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि उचालेको थियो ।
श्रीलंकापछि उनले बंगलादेश टोलीलाई पनि सम्हाले सन् २००३ देखि २००७ सम्म बंगलादेश टोलीको मुख्य प्रशिक्षक रहेका उनले त्यस क्रममा बंगलादेशलाई पनि राम्रो स्थितिमा पुर्याए ।
त्यस क्रममा बंगलादेशले भारत , दक्षिण अफ्रिकाजस्ता टिमलाई हराएको थियो ।
श्रीलंका र बंगलादेशपछि उनले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत कोलकता नाइट राइडर्ससँग पनि आबद्ध रहे । सन् २०१० र २०११ को सिजनमा उनि कोलकताको प्रशिक्षक रहेका थिए ।
त्यसपछि उनि पाकिस्तान र जिम्बावे टिमको मुख्य प्रशिक्षक भएर काम गरे । उनले जिम्बावे टोलीलाई करिब दुई वर्ष जति हेरे । सन् २०१६ देखि २०१६ सम्म जिम्बाबे टोलीमा रहेका ह्वाटमोर नेपालसँग जोडिनु अघि सिंगापुर टोलीलाई प्रशिक्षण गराएका थिए ।