onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

काठमाडौं ( अनलाइन खेल खबर ) । गण्डकी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा गण्डकीले सोमबार प्रदेश १ लाई २ विकेटले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित हुन् पुगेको थियो । यता गण्डकीसँग पराजित हुन् पुगेको प्रदेश १ पहिलो खेलमा एपीएफसँग १ सय ३५ रनले पराजित हुन् पुगेको थियो ।

यता खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ३ रनको झिनो लक्ष्यलाई गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५ रन बनाएका थिए । त्यस क्रममा अर्जुनले ६८ बलको सामना गर्दै ५ चौकासहित उक्त रन बनाउँदा दिपकले ९४ बलमा ४ चौका प्रहार गरेका थिए ।

यस्तै अभिषेक थापा १३ रनमा अविजित रहदा कप्तान विपिन खत्रीले ८ रन , दिनेश बुढा मगरले ७ रन बनाएका थिए ।

बलिङतर्फ प्रदेश १ का लागि सुभनकर र मिनाश थापाले समान २ विकेट लिए । भने दिपेश कडेल र हेमन्त राईले पनि १-१ विकेट लिएका थिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ २७.४ ओभरमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो ।

प्रदेश १ का लागि कप्तान सिद्दान्त लोहनीले सर्वाधिक ठूलो पारी खेले । ३१ बलको सामना गरेका उनले १ चौका र १ छक्कासहित २४ रन बनाए ।

यस्तै टिमका लागि मिनाश थापाले २२ रन , शुभनकर उराउले १२ रन र ओपनर ब्याट्सम्यान दिपक पासवानले ११ रन बनाउँदा दिपेश कडेलले १० रन बनाएका थिए ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले समान ४ विकेट हात पारे । जसमा विशालले ह्याट्रिकसहित उक्त विकेट लिएका थिए । भने विपिन कार्कीले पनि २ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्