आर्मीको लगातार दोस्रो जित
काठमाडौं (अनलाइन खेल खबर ) । अनिल मण्डलले उत्कृष्ट ब्याटिङ गरेसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले आईतबार कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ ।
खेलमा आर्मीले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली ३३.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १५ रनमा सिमित हुन् पुगेको थियो ।
टिमका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ठूलो पारी खेलेका थिए । ४२ बलको सामना गरेका उनले ६ चौकासहित ३० रन बनाएका थिए । यस्तै ओपनर ब्याट्सम्यान हेमन्त ओलिले १६ तथा दिपेश अधिकारीले १२ रन जोडेका थिए ।
बलिङतर्फ आर्मीका लागि शुसन भारीले ४ तथा शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट हात पार्दा हरि चौहानले १ विकेट लिएका थिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३.१ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।
उसका लागि ओपनर ब्याट्सम्यान अनिल मण्डलले सानदार ब्याटिङ गरे । १ सय १४ बलको सामना गरेका उनले १४ चौकासहित ८९ रनको योगदान गरे ।
यस्तै टिमका लागि कप्तान विनोद भण्डारीले ४१ तथा राजेश पुलामी मगरले १६ रन बनाएका थिए ।
बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारी , राज शाह र दिवान पुनले समान २ विकेट हात पारेका थिए । भने युनिश सिंह , रविन्द्र शाही र अनुजले पनि १-१ विकेट लिएका थिए ।
यो जितसँगै समूह ए मा रहेको आर्मीले लगातार दुई खेलमा जित निकाल्दै अंकतालिकामा ४ अंक जोडेको थियो । यसअघि आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको थियो ।
अब प्रतियोगितामा आर्मीले माघ ७ गते प्रदेश १ सँग मूलपानीमा खेल्नेछ । भने कर्णालीले आफ्नो दोस्रो खेल माघ ६ गते गण्डकीसँग मूलपानीमा खेल्नेछ ।