onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रदेश १ माथि एपीएफको फराकिलो जित

काठमाडौं ( अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले पराजित गरेको छ ।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ४४ रनको विजयी लक्ष्यलाई पछ्याएको प्रदेश १ ४२.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ८ रनमा सिमित हुन् पुग्यो ।

उसका लागि मिनाश थापाले १८ रन , फिर्दोस अन्सारीले १७ , दिपेश कडेलले १६ र दिपक पासवानले १३ बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन् ।

प्रदेश १ को ब्याटिङ ध्वस्त पार्ने क्रममा एपीएफका अभिनाश बोहराले उत्कृष्ट बलिङ गरे । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले ६ ओभर मेडन राख्दै १८ रन खर्चिएर ५ विकेट हात पारे । यस्तै टिमका लागि बसन्त रेग्मीले २ तथा शरद भेषवाकर र किशोर महतोले समान १ विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४८.४ ओभरमा अलआउट हुँदै २ सय ४३ रन रन बनाएको थियो ।

टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय सुवास खकुरेल र आशिफ शेखले ७१ रनको ओपनिङ साझेदारी गरेका थिए । त्यस क्रममा एपीएफले ८.५ ओभरमा पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको थियो ।

सोनु मण्डलको बलमा फिर्दोश अन्सारीको हातबाट क्याच आउट हुन् पुगेका उनले अर्धशतकीय पारी खेले । ३२ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ५९ रन बनाए । त्यसपछि १५.५ ओभरमा टिमको स्कोर ९७ रन हुँदा टिमले सुवाशलाई गुमायो । दिपेश कडेलको बलमा क्याच आउट हुन् पुगेका उनले १९ रन बनाए ।

त्यसपछि एपीएफका लागि अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले २० रन तथा प्रदीप एरीले ७ रन र सुमित महर्जनले १४ रन बनाएका थिए । भने सन्दीप जोराले ३० तथा बसन्त रेग्मीले ४० रनको योगदान गरेका थिए ।

टिमको स्कोरलाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका बसन्तले ५२ बलको सामना गर्दै ४ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए । यस्तै अन्त्यमा भुवन कार्कीले ७ रन र किशोर महतोले १९ रन थपेका थिए ।

बलिङतर्फ प्रदेश १ का लागि फिर्दोश अन्सारी ,दिपेश कडेल सरवन यादव र हेमन्त राईले समान २ विकेट हात पारेका थिए । भने सोनु मण्डलले पनि १ विकेट लिन सफल भएका थिए ।

अब प्रतियोगितामा अन्तर्गत आईतबार दुई खेल हुनेछन् । जस अन्तर्गत टियुमा नेपाल पुलिस क्लबले बागमतीको सामना गर्दा मुलपानीमा आर्मीले कर्णालीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्