onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मीको विजयी सुरुवात

काठमाडौं ( अनलाइन खेल खबर ) । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा आर्मीले शुक्रबार गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको छ । खेलमा आर्मीले प्रस्तुत गरेको २ सय ८८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी ४८ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ८९ रनमा सिमित हुन् पुग्यो ।

गण्डकीका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमाल र समिर कडेलले उत्कृष्ट साझेदारी गरेका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ५२ रनको साझेदारी हुन् पुगेको थियो ।

३.१ ओभरमा टिमको स्कोर ७ रन हुँदा दिपेश खत्रीलाई व्यक्तिगत १ रनमा गुमाएको गण्डकीको पारीलाई अर्जुन र समिरले अगाडी बढाएका थिए । त्यस क्रममा १६.६ ओभरमा टिमको स्कोर ५९ रन हुँदा अर्जुन दोस्रो विकेटका रुपमा आउट हुन् पुगे ।

५४ बलको सामना गरेका उनले ६ चौकासहित ३६ रन बनाएका थिए । यस्तै समिरले भने अर्धशतकीय पारी खेले । ९० बलको सामना गरेका उनले ५ चौकासहित ५० रन बनाए ।

यी बाहेक टिमका लागि दिपक डुम्रेले २६ रन र कप्तान विपिन खत्रीले अविजित रहदै ३७ रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ५ विकेट हात पारे । ९ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २५ रन खर्चिएर उक्त विकेट हात पारेका थिए । भने भिम सार्कीले ३ त्तथा रोहित पौडेल र आकाश चन्दले १-१ विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले । अविजित रहेका उनले ७६ बलको सामना गर्दै ९ चौका र ५ छक्कासहित १ सय ११ रन बनाए । उनको यो प्रधानमन्त्री कपमा पहिलो शतक समेत हो ।

यी बाहेक टिमका लागि ओपनर ब्याट्सम्यान राजु रिजालले ७१ बलको सामना गर्दै ४ चौका र १ छक्कासहित ४५ रन बनाए । यस्तै टिमका लागि राजेश पुलामीले ३८ रन बनाउँदा लोकेश बलले ४२ रनको योगदान गरे ।

बलिङतर्फ गण्डकीका लागि विपिन कार्की र विशाल पौडेलले समान २ विकेट हात पारे । भने दिपेश खत्री र चन्द्र पौडेलले पनि १-१ विकेट हात पारे ।

अब प्रतियोगिता अन्तर्गत शनिबार एपीएफ र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ । खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्