onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान विनोदको शतकीय पारीमा आर्मीको विशाल योगफल

काठमाडौं ( अनलाइन खेल खबर ) । कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि काठमाडौंमा जारी प्रधानमन्त्री कप र्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई विशाल चुनौती प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको छ ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले । अविजित रहेका उनले ७६ बलको सामना गर्दै ९ चौका र ५ छक्कासहित १ सय ११ रन बनाए ।

यी बाहेक टिमका लागि ओपनर ब्याट्सम्यान राजु रिजालले ७१ बलको सामना गर्दै ४ चौका र १ छक्कासहित ४५ रन बनाए । यस्तै टिमका लागि राजेश पुलामीले ३८ रन र लोकेश बलले ४२ रनको योगदान गरे ।

बलिङतर्फ गण्डकीका लागि विपिन कार्की र विशाल पौडेलले समान २ विकेट हात पारे । भने दिपेश खत्री र चन्द्र पौडेलले पनि १-१ विकेट हात पारे ।

अब आर्मीले प्रस्तुत गरेको २ सय ८८ रनको विजयी लक्ष्यलाई पछ्याउदै गण्डकीले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्