onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लुम्बिनीको लगातार दोस्रो जित

दाङ (अनलाइन खेल खबर)। दाङको लमहीमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले दिनको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गर्यो ।

खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन , सरस्वती घर्ती मगरले ३ रन र गिता घोसाइले ४ रन बनाएका थिए ।

त्यसअघि खराब मौसमका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन् । मात्र ४ बलको सामना गरेकी उनले २ चौकासहित उक्त रन बनाएकी थिइन् ।

यस्तै टिमका लागि अन्शु शाक्य ७ रनमा अविजित रहिन् ।

बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता घोसाईले पनि १-१ विकेट लिएका थिए ।

यो जितसँगै समूह ए मा रहेको लुम्बिनी अंकतालिकामा ४ अंक जोडेको छ । यसअघि लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । भने कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्