onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लुम्बिनीको विजयी सुरुवात

दाङ (अनलाइन खेल खबर ) । दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप टि- ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।

शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो ।
खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्त लक्ष्यलाई १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक २३ रनको योगदान गरिन् । अविजित रहेकी उनले ४२ बलको सामना गर्दै २ चौकासहित उक्त रन बनाएकी थिइन् । यस्तै टिमका लागि सरस्वती घर्ति मगरले २२ रन बनाइन् ।

११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन् पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् ।

यस्तै टिमकी कप्तान नेरी थापाले पनि अविजित रहदै १५ रनको योगदान गरिन् ।

त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो ।

प्रदेश २ का लागि ओपनर ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१/२१ रन बनाएका थिए । त्यस्तै विमला मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।

बलिङतर्फ लुम्बिनी प्रदेशका सुष्मिता भुषालले सर्वाधिक ४ विकेट हात पारिन् यस्तै कप्तान नेरी थापा , स्वतिका बजगाइ र गीता गोसाईले पनि १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्