प्रधानमन्त्री कपको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्समा
काठमाडौं (अनलाइन खेल खबर ) । शनिबार देखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपको प्रत्यक्ष प्रसारण (लाइभ ) डिश मिडिया नेकवर्क अन्तर्गतको एक्सन स्पोर्ट्सले गर्ने भएको छ ।
जसका लागि नेपाल क्रिकेट संघ (क्यान ) ले नेटवर्कसँग बिहिबार सम्झौता समेत गरेको छ । सम्झौता अनुरुप अब महिलासँगै पुरुष प्रधानमन्त्री कपको पनि एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारणको जिम्मेवारी प्राप्त गरेको छ ।
सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए । प्रत्यक्ष प्रसारण बारे अन्य ब्यहोरा भने खुलाईएको छैन ।
प्रतियोगितामा एक विभागीय टोली एपीएफसँगै ७ प्रादेशिक टोलीको सहभागिता रहने छ । जसअन्तर्गत दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिएको छ ।
जसमा समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी रहेका छन् । भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ ।
उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ को सामना गर्नेछ । यसरी १६ गतेसम्म चल्ने समूह चरणको खेलपछि समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल पुस १७ र फाइनल पुस १९ गते हुनेछ ।