कास्की च्याम्पियन
काठमाडौं (अनलाइन खेल खबर ) । पोखरामा भएको गण्डकी प्रादेशिक छ्नोट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले उचालेको छ ।
लिगमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको कास्कीले आफ्नो तेस्रो तथा अन्तिम खेलमा नवलपुरलाई ८६ रनले पराजित गर्न सफल भयो ।
खेलमा कास्कीले दिएको २ सय २ रनको लक्ष्यलाई पछ्याएको नवलपुर ३१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १५ रनमा सिमित हुन् पुगेपछि कास्कीलाई फराकिलो जित आत्मसाथ गर्न प्रयाप्त बन्यो ।
बलियो चुनौतीलाई पछ्याएको भएपनि नवलपुरका तीन खेलाडी बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । उसका लागि ओपनर ब्याट्सम्यान राहुल शर्माले सर्वाधिक ३२ रन , अविजित रहेका सन्देश बस्नेतले २९ रन कमल परिवारले १६ रन बनाएका थिए ।
बलिङमा कास्कीका लागि विपिन खत्री र दिपेश खत्रीले समान ३/३ विकेट लिएका थिए भने सुवाश भण्डारीले २ र अम्रित गुरुङ र देव शाहले पनि १/१ विकेट हात पारेका थिए ।
त्यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
कास्कीका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले अर्धशतकीय पारी खेले । १ सय २७ बलको सामना गरेका उनले १० चौकाको सहयोगमा ७७ रन बनाएका थिए ।
यस्तै टिमका लागि सुवाश भण्डारीले ३४ रन , विपिन खत्रीले ३० रन र अम्रित गुरुङले अविजित रह्दै १८ रनको योगदान गरेका थिए ।
बलिङमा नवलपुरका विशाल पौडेलले २ तथा विज्ञान गौतम , लक्की सापकोटा र कमल परिवारले समान १/१ विकेट लिएका थिए ।
यता पुरुष प्रधानमन्त्री कपको छ्नोटका लागि आयोजना भएको प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी र बलर कास्कीका सुवाश भण्डारी घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान यु-१६ राष्ट्रिय खेलाडी अर्जुन कुमाल घोषित भए ।
प्रतियोगितामा च्याम्पियन कास्कीसहित नवलपुर , तनहुँ र स्याङ्जाको सहभागिता रहेको थियो । लिगको शीर्ष टोलीको हैसियतले च्याम्पियन बनेको कास्कीले ३ खेलमा जित हासिल गर्दै अंकतालिकामा ६ अंक जोडेको थियो । त्यसपछि समान २/२ अंक रहेका टिम नेट रनरेटका हिसाबले नवलपुर , तनहुँ र स्याङ्जा क्रमशः दोस्रो , तेस्रो र चौथो स्थानमा रहदै प्रतियोगिताको समापन गरे ।
अब यहीँ प्रतियोगितालाई आधार बनाएर गण्डकी प्रदेश क्रिकेट संघले आफ्नो टोलीको घोषणा गर्नेछ ।