नवलपुरमाथि स्याङ्जाको रोमान्चक जित
काठमाडौं (अनलाइन खेल खबर )।पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रादेशिक छ्नोट प्रतियोगिताको चौथों खेलमा स्याङ्जाले नवलपुरमाथि रोमान्चक जित हासिल गरेको छ ।
खेलमा नवलपुरले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्यलाई स्याङ्जाले अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्यो । टिमको रोमान्चक जितमा विष्णु पाण्डेले सर्वाधिक ठूलो पारी खेले ।
१ सय ९ बलको सामना गरेका उनले ८ चौकासहित ७५ रनको योगदान गरे । यी बाहेक टिमका लागि ओपनर ब्याट्सम्यान करन पंगेनीले ४१ तथा अर्का ओपनर ईश्वर छेत्रीले २८ रन , अशोक श्रेष्ठले २७ रन र सौजन्य रेग्मीले १९ रन बनाएका थिए ।
बलिङमा नवलपुरका लागि कैलाश पंगेनिले ३ तथा विज्ञान गौतमले २ विकेट लिदा विशाल पौडेल, राहुल शर्मा र सनम बुढाथोकीले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४७.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।
टिमका लागि सन्देश बस्नेत र दिपक डुम्रेले अर्धशतकीय पारी खेले । त्यस क्रममा ५२ बलको सामना गरेका दिपकले ५ चौका र २ छ्क्कासहित ५२ रनको योगदान गरे ।
यस्तै दिपकलाई साथ दिएका सन्देश बस्नेतले पनि ७५ बलमा ४ चौका र १ छ्क्कासहित ५० रनको योगदान गरे भने विशाल पौडेलले २९ रन , कमल परिवारले २४ रन र विज्ञान गौतमले १६ रन थपेका थिए ।
बलिङतर्फ स्याङ्जाका लागि मिलन लुईटेलले सर्वाधिक ५ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले ४३ रन खर्चिएर उक्त विकेट हात पारे । यस्तै विष्णु पाण्डेले २ तथा सुजन गौतम , करन पंगेनी र अशोक श्रेष्ठले पनि १/१ विकेट लिएका थिए ।
यो सँगै स्याङ्जाले सान्त्वना जितसँगै प्रतियोगिताको समापन गरेको छ । यसअघि स्याङ्जा पहिलो खेलमा कास्कीसँग ७ विकेटले र दोस्रो खेलमा तनहुँसँग ११ रनले पराजित भएको थियो । यता स्याङ्जासँग पराजित हुन् पुगेको नवलपुरले आफ्नो पहिलो खेलमा तनहुँलाई ३७ रनले पराजित गरेको थियो ।
अब प्रतियोगिता अन्तर्गत मंगलबार कास्कीले तनहुँको सामना गर्नेछ ।