झापालाई उपाधि
काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि दाङको लमहीमा हुन् गईरहेको महिला प्रधानमन्त्री कप अन्तर्गत प्रदेश १ को छ्नोट प्रतियोगिताको उपाधि झापाले उचालेको छ ।
झापामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापाले उपाधि उचाल्ने क्रममा मोरङलाई ९ विकेटले पराजित गर्यो ।
खेलमा मोरङले प्रस्तुत गरेको मात्र ५३ रनको झिनो विजयी लक्ष्यलाई झापाले मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।
झापालाई च्याम्पियन बनाउने क्रममा ब्याटिङमा काजोल श्रेष्ठले अविजित रहदै २२ रन जोडिन भने रोमा थापाले २० रनको योगदान गरेकी थिइन् । सलिना तामाङको बलमा पहिलो विकेटको रुपमा पभेलियन फर्किएकी रोमाले उक्त रन बनाउने क्रममा २५ बलको सामना गर्दै २ चौकासमेत प्रहार गरिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मोरङ १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन् पुगेको थियो ।
मोरङका लागि राधिका श्रेष्ठ (कुमाल )ले १५ तथा सलिना तामाङले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।
बलिङमा मोरङको ब्याटिङ ध्वस्त पार्ने क्रममा निग्मा तामाङ , लकिता राजबन्शीले २/२ विकेट हात पार्दा शवनम राई , संगिता राई,अप्सरी बेगम,अलिशा खडिया र ज्योति दनवारले पनि १/१ विकेट लिएका थिए ।
यता प्रतियोगिताको प्लेयर अफ द सिरिज झापाकी अप्सरी बेगम घोषित भईन । उनले प्रतियोगिता भर ८७ रन र २ विकेट लिएकी थिइन् ।
अब यहीँ प्रतियोगितालाई आधार मानेर प्रदेश १ को टोली घोषणा हुनेछ ।