onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रदेश १ प्रादेशिक छ्नोट : उदयपुरमाथि सुनसरीको फराकिलो जित

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा हुने पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ छ्नोट खेलमा सुनसरीले उदयपुरमाथि फराकिलो जित हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा सुनसरीले फराकिलो अन्तरले जित हासिल गर्ने क्रममा उदयपुरलाई २ सय १७ रनले पराजित गर्यो ।

खेलमा २ सय ५५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको उदयपुर १४ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३७ रनमा सिमित हुन् पुगेपछि सुनसरीलाई फराकिलो जित निकाल्न प्रयाप्त बन्यो ।

विशाल योगफललाई पछ्याएको भएपनि उदयपुरका लागि प्रभात राईले मात्र दोहोरो अंक जोड्न सफल भए । १८ बलको सामना गरेका उनले १ चौकासहित १२ रन बनाए ।

बलिङतर्फ कमजोर उदयपुरको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुनसरीका विकल्प आचार्य एक्लैले ५ विकेट लिए । मात्र ३ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारे । यस्तै टिमका लागि जोसक खड्काले ३ र सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीरले ४२ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि विकेश बन्जाराले ३६ रन , सरोज कटवालले २८ रन , भुपाल लुईटेलले २६ रन र सरोज बस्नेतले २४ रन बनाएका थिए ।

बलिङतर्फ उदयपुरका आकाशले ४ तथा दिपक जोशीले २ विकेट लिए । भने तेज आचार्य र प्रकासले १-१ विकेट लिएका थिए ।