onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकी प्रदेशको छ्नोट सुरु : उद्घाटन खेलमा कास्की विजयी

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा हुने पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रादेशिक छ्नोट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

कास्की ,स्याङ्जा , तनहुँ र नवलपुरको सहभागिता रहेको छ्नोट प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप ) का सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरेका थिए ।उद्घाटन सत्रमा गण्डकी प्रदेश क्रिकेट संघका पदाधिकारी , क्रिकेट प्रेमी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

यता छ्नोटको पहिलो दिन कास्कीले स्याङ्जालाई ७ विकेटले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले ३८.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सफल भएको थियो ।

स्याङ्जाका लागि विष्णु पाण्डेले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ६३ बलको सामना गर्दै ३ चौकासहित ४१ रन बनाए । यस्तै टिमका लागि सौजन्य रेग्मीले २६ तथा ओपनर ब्याट्सम्यान लोकेन्द्र सोमैले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ कास्कीका लागि सुवाश भण्डारी र विश्व कार्कीले समान ३-३ विकेट विकेट लिएका थिए भने कृष्ण पौडेल , अम्रित गुरुङ र विपिन खत्रीले समान १-१ विकेट लिएका थिए ।

त्यसपछि स्याङ्जाले प्रस्तुत गरेको १ सय २० रनको सामान्य विजयी लक्ष्यलाई कास्कीले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

कास्कीको जितमा १७ वर्षिय युवा ब्याट्सम्यान अभिषेक थापाले सर्वाधिक ठूलो योगदान गरे । अविजित रहेका उनले टिमलाई सहज जित दिलाउने क्रममा ६२ बलको सामना गर्दै १ चौका र ३ छ्क्कासहित ४३ रन बनाए ।

यस्तै टिमका लागि ओपनरद्वय दिपेश खत्री र अर्जुन कुमालले क्रमशः ८ र २२ रन जोडे भने साहिल खत्रीले १२ रन बनाउँदा सुदिप पौडेल २१ रनमा अविजित रहे ।

बलिङतर्फ स्याङ्जाका लागि सुरज गुरुङले २ तथा अन्कित न्यौपानेले १ विकेट लिएका थिए ।
अब प्रतियोगिता अन्तर्गत शनिबार तनहुँले स्याङ्जाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्