गौतम बुद्ध कपको उपाधि राप्तीलाई
काठमाडौं (अनलाइन खेल खबर ) । चितवनमा भएको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीले उचालेको छ ।
मंगलबार भएको प्रतियोगिताको फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्ती प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा राप्तीले प्रस्तुत गरेको १ सय ४४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नारायणी २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा सिमित हुन् पुगेपछि राप्ती च्याम्पियन बनेको हो ।
राप्तीका लागि अनुभबी खेलाडी मोहम्मद आरिफ शेखले सर्वाधिक ठूलो पारी खेलेका थिए ।३१ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्का प्रहार गरे ।
यस्तै ईशान पाण्डे र रित गौतमले समान २७/२७ रनको योगदान गरेका थिए ।
बलिङतर्फ नारायणीका लागि अभिनाश बोहराले ३ तथा भुवन कार्कीले २ विकेट लिए भने जितेन्द्र मुखिया र कमल सिंह एरीले पनि समान १/१ विकेट लिएका थिए ।
त्यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
राप्तीले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनरद्वय अमित श्रेष्ठ र कुशल भुर्तेलले ५१ रनको ओपनिङ साझेदारी गरेका थिए ।
५.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका अमितले १८ रन बनाए । शाहब आलमको बलमा आउट हुनुअघि अमितले १७ बलको सामना गर्दै ४ चौकासहित उक्त रन बनाएका थिए ।
त्यसपछि शरद भेषावकरले १० रन बनाउँदा अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४२ रनको योगदान गरे । ३१ बलको सामना गरेका उनले २ चौका र ४ छ्क्कासहित उक्त रन बनाए । यस्तै टिमका कप्तान विनोद भण्डारीले ३२ रनको योगदान गरे ।
बलिङतर्फ नारायणीका लागि शाहब आलमले ३ तथा सुशन भारीले २ तथा करण केसीले १ विकेट लिएका थिए ।
मंसिर २७ गतेबाट सुरु भएको प्रतियोगितामा राप्ती , बाग्मती र नारायणीको सहभागिता रहेको थियो । जसमा बन्द प्रशिक्षणमा रहेका खेलाडी , घरेलु क्रिकेटमा नाम चलेका र स्थानिय खेलाडीहरुको सहभागिता रहेको थियो ।