नारायणीसामू राप्तीको बलियो लक्ष्य
काठमाडौं (अनलाइन खेल खबर ) । चितवनमा जारी गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा राप्तीले नारायणीलाई १ सय ४४ रनको विजयी चुनौती दिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको छ ।
राप्तीले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनरद्वय अमित श्रेष्ठ र कुशल भुर्तेलले ५१ रनको ओपनिङ साझेदारी गरे ।
५.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका अमितले १८ रन बनाए । शाहब आलमको बलमा आउट हुनुअघि अमितले १७ बलको सामना गर्दै ४ चौकासहित उक्त रन बनाएका थिए ।
त्यसपछि शरद भेषावकरले १० रन बनाउँदा अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४२ रनको योगदान गरे । ३१ बलको सामना गरेका उनले २ चौका र ४ छ्क्कासहित उक्त रन बनाएका थिए ।
यस्तै टिमका कप्तान विनोद भण्डारीले ३२ रनको योगदान गरे ।
बलिङतर्फ नारायणीका लागि शाहब आलमले ३ तथा सुशन भारीले २ तथा करण केसीले १ विकेट लिएका थिए ।