onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नारायणीमाथि राप्तीको रोमान्चक जित

काठमाडौं (अनलाइन खेल खबर ) । चितवनमा जारी गौतम बुद्ध कपको लिगको अन्तिम खेलमा राप्तीले नारायणीमाथि रोमान्चक जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा नारायणीले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी चुनौतीलाई राप्तीले १ बल बाँकी छ्दै ९ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई रोमान्चक जिताउने क्रममा राप्तीका लागि कमल सिंह एरीले अविजित रहदै २४ रनको योगदान गरे । मात्र १५ बलको सामना गरेका उनले ३ चौका र १ छ्क्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

यस्तै टिमको जितमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको पारीले ठूलो भूमिका निर्वाह गर्यो । ४१ बलको सामना गरेका उनले ४ चौका र ६ छ्क्कासहित ६५ रन बनाएका थिए ।

यी बाहेक टिमका लागि आशिफ शेखले १४ तथा सुमित महर्जनले १२ रन बनाएका थिए ।

बलिङतर्फ नारायणीका करण केसीले ३ तथा किशोर महतो र शुसन भारीले समान २/२ विकेट लिएका थिए । यस्तै दिपेश श्रेष्ठ र शाहब आलमले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

नारायणीका लागि किशोर महतोले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले मात्र १४ बलको सामना गर्दै २ चौका र ४ छ्क्काको सहयोगमा ३६ रन बनाएका थिए ।

यस्तै कप्तान करण केसीले पनि २२ बलमा १ चौका र ३ छ्क्काको साथमा ३२ रन बनाए । यी बाहेक शुसन भारीले १८ रन , रित गौतमले १३ रन र इशान पाण्डेले १० रन बनाएका थिए ।

बलिङतर्फ राप्तीका सुर्य तामाङ र अभिनाश बोहराले २/२ विकेट लिँदा जितेन्द्र मुखिया , कमल सिंह एरी र भुवन कार्कीले समान १/१ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा राप्तीको लगातार दोस्रो जित हो । पहिलो खेलमा राप्तीले बाग्मतीलाई ११ रनले पराजित गरेको थियो । यता राप्तीसँग पराजित हुन् पुगेको नारायणीले पहिलो खेलमा बाग्मतीलाई सुपर ओभरमा पराजित गरेको थियो ।

अब यी दुई नारायणी र राप्तीनै प्रतियोगिताको उपाधिका लागि मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्