onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेहबुबको शतकमा सप्तरीको लगातार दोस्रो जित

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि काठमाडौंंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ को प्रादेशिक छ्नोटमा सप्तरीले लगातार दोस्रो जित हासिल गरेको छ

पहिलो खेलमा सिरहालाई ७ विकेटले पराजित गरेको सप्तरीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा आईतबार महोत्तरीलाई ७ विकेटले पराजित गरेको छ ।

खेलमा २ सय २३ रनको प्रतिस्पर्धात्मक लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सप्तरीले उक्त विजयी चुनौतीलाई २६. ३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई अर्को सानदार जित दिलाउने क्रममा नेपालका चर्चित क्रिकेटर मेहबुब आलम र आशिष झाले उत्कृष्ट ब्याटिङ गरे ।

जसमा निकै राम्रो लयमा देखिएका आलमले शतकीय पारी खेले । अघिल्लो खेलमा सिरहाविरुद्ध अविजित रहदै ५९ रन बनाएका आलमले महोत्तरीविरुद्ध पनि अविजित रह्दै १ सय १ रन बनाए । मात्र ४७ बलको सामना गरेका आलमले उक्त रन बनाउने क्रममा ८ चौका र १० छक्का समेत प्रहार गरेका थिए ।

यस्तै आलमलाई साथ दिएका आशिष झाले पनि अर्धशतक पूरा गरे । ५० बलको सामना गरेका उनले ५ चौक्का र ४ छक्काको मद्धतले ६३ रन बनाए ।

यी दुई बाहेक राहुल मण्डलले अविजित रहदै २२ रन जोडेका थिए ।

बलिङतर्फ महोत्तरीका मोहम्मद युसुफ, राहुल प्रताप सिंह र पुरज ढुंगेलले सामान १/१ बिकेट लिएका थिए ।

त्यसअघि जनकपुरको बाह्रबिघा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महोत्तरीले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

महोत्तरीले प्रतिस्पर्धात्मक स्कोर बनाउने क्रममा उसका लागि पनि रवी सिंहको शतकीय पारी खेलेका थिए । अविजित रहेका उनले ८६ बलको सामना गर्दै १० चौका र ५ छ्क्कासहित १ सय ८ रन बनाएका थिए ।

रवि बाहेक महोत्तरीका लागि राजकुमार साहानीले २६ रन , आदित्य झाले २१ रन र शौरभ नागबन्सीले २० रनको योगदान दिएका थिए ।

बलिङतर्फ सप्तरीका रोहित सिंह, अनुज यादव, महबुब आलम, रोबिन सिंह, विकास दास र राहुल मण्डलले सामान १/१ विकेट लिएका थिए ।

यस्तै समूह `बी´ अन्तर्गत आईतबार भएको खेलमा पर्साले सर्लाहीलाई ७ विकेटले पराजित गरेको छ ।

यता समूह `ए´ मा रहेको सप्तरीले लगातार दुई खेलमा जित हासिल गर्दै ४ अंकका साथ अहिले अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भने दोस्रो स्थानमा महोत्तरी रहेको छ । समान ४ अंकभएपनि महोत्तरी नेट रनरेटमा पछि रहदै दोस्रो स्थानमा रहेको छ ।

प्रदेश २ को प्रादेशिक छ्नोटका लागि कुल ८ टिमको सहभागिता रहेको छ । जसलाई दुई समूह विभाजन गरिएको छ । जस अन्तर्गत समूह `ए´ मा धनुषा,महोत्तरी,सिराहा र सप्तरी रहदा समूह `बी´मा सर्लाही,पर्सा,बारा र रौतहट रहेका छन् ।

यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल खेल पुस ४ र ५ गते हुनेछ भने फाइनल ६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्