onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बाग्मती बाहिरियो : उपाधिका लागि राप्तीले नारायणीको सामना गर्ने

काठमाडौं (अनलाइन खेल खबर ) । चितवनमा जारी गौतम बुद्ध कपको फाइनलमा विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीले सुवाश खकुरेलको कप्तानीमा रहेको नारायणीको सामना गर्ने भएको छ ।

फोटो : विशाल पोख्रेल

प्रतियोगितामा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती लगातार दुई खेलमा पराजित भएसँगै राप्ती र नारायणी फाइनल खेल्ने पक्का भएको हो । यसअघि बाग्मती पहिलो खेलमा नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो ।

यता खेलमा राप्तीले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्यलाई पछ्याएको बाग्मती २ बल बाँकी छ्दै १ सय १८ रनमा सिमित हुन् पुगेपछि राप्तीले खेललाई ११ रनले आफ्नो पक्षमा पार्न सफल भयो ।

बाग्मतीका लागि सोमपाल कामीले सर्वाधिक ठूलो पारी खेले । २८ बलको सामना गरेका उनले ३ चौका र २ छ्क्कासहित ३५ रन बनाए ।

यस्तै टिमका लागि सुनिल धमलाले ११ रन , कप्तान ज्ञानेन्द्र मल्ल र रोहितले समान १३/१३ रन बनाउँदा अनिल शाहले २२ रन जोडेका थिए ।

बलिङतर्फ राप्तीका लागि जितेन्द्र मुखिया , कमल सिंह एरी , भुवन कार्की र अभिनाश बोहराले समान २/२ विकेट लिएका थिए भने सोनु तामाङले पनि १ विकेट हात पारे ।

त्यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

राप्तीका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाउँदा शरद भेषावकर र कप्तान विनोद भण्डारीले समान २१/२१ रन बनाएका थिए ।

यस्तै युवा ब्याट्सम्यान लोकेश बमले १५ रन बनाए भने कमल सिंह एरीले १६ रन जोडेका थिए ।

बलिङतर्फ बाग्मतीका लागि सोमपाल कामी , सागर ढकाल र राशिद खानले समान २/२ विकेट लिए भने विक्रम शोब र ललित राजबम्शीले पनि समान १/१ विकेट लिएका थिए ।

अब फाइनल अघि फाइनल पुगिसकेका नारायणी र राप्ती सोमबार पनि आमने सामने हुनेछन् । त्यसपछि यी दुई टोलीनै मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्