सुपर ओभरमा नारायणी विजयी

सुपर ओभरमा नारायणी विजयी

काठमाडौं (अनलाइन खेल खबर ) । चितवनमा जारी गौतम बुद्ध कपको पहिलो खेलमा सुवाश खकुरेलको कप्तानीमा रहेको नारायणी विजयी भएको छ ।

शनिबार भएको रोमान्चक खेलमा नारायणीले बाग्मतीलाई सुपर ओभरमा पराजित गरेको थियो।

सुपर ओभरमा नारायणीले २५ रन बनाउँदा बाग्मती २० रनमै सिमित हुन् पुग्यो । नारायणीका लागि सबै रन करण केसीले बनाउँदा बाग्मतीका लागि ज्ञानेन्द्र मल्ल एक्लैले उक्त रन बनाएका थिए ।

सुपर ओभर अघि नारायणीले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

नारायणीका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ठूलो पारी खेले । ४५ बलको सामना गरेका उनले १ चौका र ४ छ्क्कासहित ४४ रन बनाएका थिए ।

यस्तै सिद्धान्त लोहनीले २० तथा इशान पाण्डेले १३ र कप्तान सुवाश खकुरेलले ११ रन बनाएका थिए ।

बलिङतर्फ बाग्मतीका सोमपाल कामीले २ विकेट लिए भने सागर ढकाल , पवन सरार्फ , बिक्रम शोब , ललित राजबम्शी र राशिद खानले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

बाग्मतीले उक्त योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र विक्रम शोबले समान ३७/३७ रनको योगदान गरेका थिए ।

यस्तै राशिद खानले २७ रन बनाउँदा अन्य खेलाडीहरु दोहोरो अंक समेत जोड्न सकेनन् । त्यस क्रममा कप्तान ज्ञानेन्द्र मल्ल ५ रन र प्रदीप एरीले ४ रन बनाएर पभेलियन फर्किएका थिए ।

बलिङतर्फ नारायणीका लागि शाहब आलमले सर्वाधिक ३ विकेट लिए । भने दिपेश खत्रीले २ तथा सुशन पारी , किशोर महतो र करण केसीले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत आईतबार बाग्मतीले राप्तीको सामना गर्नेछ । तीन टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।