भारतसामू अष्ट्रेलियाको बलियो लक्ष्य प्रस्तुत
एजेन्सी । ओपनर ब्याट्सम्यान म्याथ्यू वेड र ग्लेन म्याक्सवेलको सानदार पारीमा घरेलु टोली अष्ट्रेलियाले तीन खेलको टी- ट्वान्टी सिरिजको अन्तिम खेलमा भारतलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको छ ।
अष्ट्रेलियाले उक्त योगफल बनाउने क्रममा ओपनर ब्याट्सम्यान म्याथ्यू वेडले अर्धशतकीय पारी खेले । इनिङ्सकै सर्वाधिक ठूलो पारी खेलेका उनले ५३ बलको सामना गर्दै ७ चौका र २ छ्क्कासहित ८० रन बनाए ।
यस्तै अष्ट्रेलियाका लागि अर्का अनुभबी आक्रमक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले पनि ५४ रनको योगदान गरे । मात्र ३६ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा समान ३/३ चौका र छ्क्का प्रहार गरे ।
यी दुई ब्याट्सम्यानबाहेक अष्ट्रेलियाका लागि स्टिभ स्मिथले २४ तथा डी आर्सी शर्टले ७ रन र मोइसेस हेनरिक्सले अविजित रहदै ५ रन बनाएका थिए ।
बलिङतर्फ भारतका लागि वासिङटन सुन्दरले २ तथा नटराजन र शार्दुल ठाकुरले समान १/१ विकेट लिएका थिए ।
सिरिज अन्तर्गत यसअघिका दुई खेलमा भारतले जित आत्मसाथ गरेको थियो । जस अन्तर्गत भारतले अष्ट्रेलियालाई पहिलो खेलमा ११ रन र दोस्रो खेलमा ६ विकेटले पराजित गरेको थियो ।