onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतले अष्ट्रेलियालाई फेरी हरायो : सिरिज पनि भारतलाई

एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो टी – ट्वान्टी सिरिजमा पाहुना टोली भारतले घरेलु टोली अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

योसँगै लगातार दुई खेल जितेको भारतले तीन खेलको सिरिज आफ्नो नाममा समेत लेखाएको छ ।

खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले उक्त चुनौतीलाई २ बल बाँकी रहदै पूरा गर्यो ।

भारतको जितमा ओपनर ब्याट्सम्यान शिखर धवनले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित ५२ रनको योगदान गरे ।

यस्तै टिमका लागि कप्तान विराट कोहलीले ४० रन बनाउँदा ओपनर ब्याट्सम्यान लोकेश राहुलले ३० रन र सन्जु सामसनले १५ बनाएका थिए ।

यस्तै टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हार्दिक पान्डेयाले अविजित रहदै ४४ रन बनाए । आक्रमक शैलीमा ब्याटिङ गर्दै टिमलाई जित दिलाएका हार्दिकले उक्त रन बनाउने क्रममा २२ बलमा ३ चौका र २ छ्क्का समेत प्रहार गरे ।

यस्तै अन्तिममा उनलाई साथ दिएका श्रेयस अय्यर पनि १२ रनमा अविजित रहे ।

बलिङतर्फ अष्ट्रेलियाका एडम जम्पा,डेनियल सामस,एन्ड्र्यू टाय र मिशेल स्विपसनले समान १/१ विकेट हात पारे ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा अष्ट्रेलियाका लागि म्याथ्यू वेडले सर्वाधिक ठूलो पारी खेले । ओपनर तथा विकेट किपर ब्याट्सम्यानका रुपमा रहेका उनले इनिङको सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३२ बलको सामना गर्दै १० चौका र १ छ्क्कासहित ५८ रन बनाए ।

यस्तै अर्का ओपनर डि आर्ची शर्ट भने ९ रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भरपर्दा ब्याट्सम्यान स्टिभ स्मिथले ४६ र ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए ।

यस्तै मोइसेस हेनरिक्सले २६ रन तथा मार्कस स्टोइनिस र डेनियल सामसले अविजित रहदै क्रमशः १६ र ८ रन जोडे ।

बलिङतर्फ भारतका नटराजनले २ तथा युजभेन्द्र चहल र शार्दुक ठाकुरले समान १/१ विकेट लिएका थिए ।

तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो । अब सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्