onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतलाई सान्त्वना जित

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली भारतले घरेलु टोली अष्ट्रेलियालाई पराजित गरेको छ ।

सिरिज अन्तर्गत यसअघिका दुई खेल गुमाएको भारतले अन्तिम खेलमा अष्ट्रेलियालाई १३ रनले पराजित गर्यो । योसँगै अष्ट्रेलियाको सिरिज माथि क्लिन स्पिप गर्ने योजना असफल बन्यो ।

खेलमा भारतले प्रस्तुत गरेको ३ सय ३ रनको विजयी चुनौतीलाई पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै २ सय ८९ रनमा सिमित हुन् पुगेपछि भारतलाई सान्त्वना जित हासिल गर्न प्रयाप्त बन्यो ।

अष्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान तथा कप्तान आरोन फिन्चले सर्वाधिक ठूलो पारी खेले । त्यस क्रममा उनले ८२ बलमा ७ चौका र ३ छ्क्काको सहयोगमा ७५ रन बनाए ।

यस्तै टिमलाई जिततर्फ पुर्याउन आक्रमक ब्याट्सम्यानका रुपमा परिचित ग्लेन म्याक्सवेलको भूमिका पनि महत्वपूर्ण रहयो । टिमलाई जितको नजिक पुर्याउने उनले त्यस क्रममा अर्धशतकीय पारी खेले ।

४४.३ ओभरमा टिमको स्कोर २ सय ६८ रन हुँदा सातौं विकेटका रुपमा आउट हुन् पुगेका उनले ३८ बलमा ३ चौका र ४ छ्क्कासहित ५९ रन बनाए ।

यस्तै टिमका लागि मोइज हेनरिक्सले २२ रन,क्यामरन ग्रीनले २१ रन ,एलेक्स क्यारीले ३८ रन र एस्टन आगरले २८ रन जोडेका थिए ।

बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ तथा नटराजन र जसप्रित बुमराहले समान २/२ विकेट हात पारे । भने कुलदिप यादव र रविन्द्र जडेजाको नाममा पनि १/१ विकेट रहयो ।

त्यसअघि क्यानबेरामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

भारतले उक्त रन बनाउने क्रममा उसका लागि हार्दिक पान्ड्या र रविन्द्र जडेजाको जोडीले उत्कृष्ट साझेदारी गरेका थिए ।

त्यस क्रममा इनिङलाई अन्त्यसम्म पुर्याएका हार्दिकले ७६ बलको सामना गर्दै ७ चौका र १ छ्क्कासहित ९२ रन बनाएका थिए ।

यस्तै हार्दिकलाई राम्रो साथ दिएका रविन्द्र जडेजाले पनि ६६ बनाए । यी दुई बीच १ सय ५० रनको साझेदारी हुन् पुगेको थियो ।

त्यसअघि कप्तान विराट कोहलीले पनि राम्रो ब्याटिङ गरे । ३१.६ ओभरमा टिमको स्कोर १ सय ५२ रन हुँदा पाँचौ विकेटका रुपमा आउट हुन् पुगेका उनले ७८ बलको सामना गर्दै ५ चौकासहित ६३ रन बनाए ।

यि बाहेक ओपनरद्वय शिखर धवन र शुभमन गिलले क्रमशः १६ र ३३ रन बनाउँदा श्रेयस अय्यरले १९ रन र लोकेश राहुलले ५ रन बनाएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका एस्टन आगरले २ तथा जोश हेजलवुड , सीन एबट र एडम जम्पाले समान १/१ विकेट लिए ।

सिरिज अन्तर्गत यसअघिका दुई खेलमा अष्ट्रेलियाले जित आत्मसाथ गरेको थियो । जसअन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रन र दोस्रो खेलमा ५१ रनले पराजित गरेको थियो ।

अब यी दुई टोलीबीच तीन खेलको टि – ट्वान्टी सिरिज हुनेछ । सिरिजको पहिलो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्