onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डको क्लिन स्विप

एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टि-ट्वान्टी सिरिजमा पाहुना टोली इंग्ल्यान्डले
क्लिन स्विप गरेको छ ।

मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज ३-० ले जितेको हो ।

सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले उक्त चुनौतीलाई १७.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई सानदार जित दिलाउने क्रममा उसका लागि डाविड मालनले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ४७ बलको सामना गर्दै ११ चौका र ५ छ्क्कासहित ९९ रन बनाए ।

यस्तै जोस बट्लर पनि ६७ रमा अविजित रहेका थिए । त्यसअघि ३.४ ओभरमा टिमको स्कोर २५ रन हुँदा एन्रीच नोर्ट्जेको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका ओपनर ब्याट्सम्यान जोसन रोयले १६ रन बनाएका थिए ।

त्यसअघि क्याप टाउनमा भएको खेलमा टस जितेर घरेलु टोली दक्षिण अफ्रिकाले सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ३ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै ७४ रन बनाए भने फाप डु प्लेसिस पनि ५२ रनकमा अविजित रहेका थिए ।

त्यसअघि टेम्बा भाभुनाले ३२ रन , कप्तान क्विन्टन डी ककले १७ रन र रिजाले १३ रन जोडेका थिए।

बलिङतर्फ इंग्ल्यान्डका बेन स्टोक्सले २ र क्रिस जोर्डनले १ विकेट लिए ।

यसअघि सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

अब यी दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जसको सुरुवात शुक्रबारबाट हुनेछ ।