onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

घरेलु क्रिकेटका सफल प्रशिक्षक मनोज नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा चयन

काठमाडौं (अनलाइन खेल खबर ) । घरेलु क्रिकेटको सफल टिम मध्यको एक विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक समेत रहेका मनोज कटवाल नेपाली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा चयन भएका छन् ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका मनोजको मातहतमा विभागीय टोली पुलिसले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ । यसका साथै उनले फेन्चाइज टोलीलाई पनि हेर्ने गर्छन् । जस अन्तर्गत चितवन राइनोजलाई उनले पोखरा प्रिमियर लिग(पीपीएल )को च्याम्पियन बनाईसकेका छन् ।

सन् २००२ को एसीसी ट्रफी अन्तर्गत ओमानविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेका मनोजले सन् २००६ सम्म आईपुग्दा १३ एकदिवसीय खेलमा राष्ट्रको प्रतिनिधित्व गरेका थिए ।

त्यसपछि प्रशिक्षणमा हात हालेका मनोजले घरेलु क्रिकेटमा लामो समय बिताईसकेका छन् । वर्तमान अवस्थासम्म आईपुग्दा उनलाई पनि नेपालमा रहेका राम्रो प्रशिक्षकको रुपमा लिने गरिन्छ ।

२०६२ सालदेखि पुलिसमा आबद्ध रहेका मनोजले २०६७ देखि पुलिस टोलीलाई प्रशिक्षण गराउँदै आएका छन् । यसबीचमा पुलिसले नेपालको अग्रणी घरेलु प्रतियोगिता प्रधानमन्त्री कपमा दुईपटक उपाधि उचालिसकेको छ । यसका साथै अन्य घरेलु प्रतियोगितामा पनि पुलिसको बर्चस्व कायमनै रहेको छ ।

प्रतिभावान,मेहनती र अनुशासित प्रशिक्षकको छवि बनाएका यिनै प्रशिक्षक मनोजलाई अहिले नेपाल क्रिकेट संघ (क्यान ) ले हाल बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्हाल्न सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । र हाल मुख्य प्रशिक्षकका रुपमा रहेका जगत टमटालाई उनले अहिले सघाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्