onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारत फेरी हार्यो : सिरिज अष्ट्रेलियालाई

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजको उपाधि घरेलु टोली अष्ट्रेलियाले उचालेको छ ।

आईतबार भएको सिरिजको दोस्रो खेलमा पाहुना टोली भारतलाई ५१ रनले पराजित गरेसँगै अष्ट्रेलियाले सिरिज आफ्नो नाममा लेखाउन सफल भएको हो । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो ।

यता खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ९० रनको विशाल विजयी लक्ष्यलाई पछ्याएको भारत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रनमा सिमित हुन् पुगेपछि अष्ट्रेलियालाई सिरिज आफ्नो नाममा लेखाउन प्रयाप्त बन्यो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ठूलो पारी खेले ।३४.५ ओभरमा टिमको स्कोर २ सय २५ रन हुँदा चौथों विकेटका रुपमा आउट हुन् पुगेका विराटले ८७ बलमा ७ चौका र २ छ्क्कासहित ८९ रन बनाए । राम्रो लयमा देखिएका उनि ठूलो सट प्रहार गर्ने कोशिसमा रहदा जोश हेजलवुडको बलमा मोइसेस हेनरिक्सको हातबाट क्याच आउट हुन् पुगेका थिए ।

त्यसअघि भारतका लागि शिखर धवनले ३० तथा अर्का ओपनर मंयाक अग्रवालले २८ रन बनाउँदा श्रेयस अय्यरले ३८ रन जोडेका थिए ।

विराटपछि भारतको पारीलाई लोकेश राहुल र हार्दिक पाण्डेयाले अगाडि बढाए । त्यस क्रममा लोकेशले ७६ रन बनाउँदा हार्दिकले २८ रन बनाए भने अत्यतिर रविन्द्र जडेजाले पनि २४ रन बनाएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्सले ३ तथा जोश हेजलवुड र एडम जम्पाले २/२ र मोइसेस हेनरिक्स र ग्लेन म्याक्सवेलले १/१ विकेट लिएका थिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो ।

अष्ट्रेलियाले विशाल योगफल खडा गर्ने क्रममा उसले सुरुवातबाटै राम्रो गरेको थियो । उसका लागि ओपनरद्वय डेविट वार्नर र आरोन फिन्चले १ सय ४२ रनको ओपनिङ साझेदारी गरेका थिए ।

पहिलो विकेटका रुपमा आउट हुन् पुगेका आरोन फिन्चले यसबीचमा ६० रन बनाए । टिमका कप्तान समेत रहेका फिन्च २२.५ ओभरमा मोहम्मद शामीको बलमा विराट कोहलीको हातबाट क्याच आउट हुनुअघि ६९ बलको सामना गर्दै ६ चौका र १ छ्क्का समेत प्रहार गरेका थिए ।

टिमलाई सानदार सुरुवात दिलाएर फिन्च आउट भएपछि वार्नरलाई साथ दिन शीर्ष क्रममा अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ ब्याटिङ गर्न आएका थिए । तर यो जोडी भने जम्न सकेन तर पनि दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले उत्कृष्ट ब्याटिङ भने गरे ।

२५.३ ओभरमा टिमको स्कोर १ सय ५६ हुँदा रन आउट हुन् पुगेका वार्नरले ७७ बलमा ७ चौका र ३ छ्क्कासहित ८३ रन बनाए ।

दुई ओपनर ब्याट्सम्यानपछि अष्ट्रेलियाले तेस्रो विकेटका लागि स्मिथ र मार्नस लाबुसेनबीच अर्को उत्कृष्ट साझेदारी पायो । यी दुईबीच तेस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी हुन् पुगेको थियो ।

४१.२ ओभरमा टिमको स्कोर २ सय ९२ रन हुँदा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका स्मिथले शतकीय पारी खेले । सिरिज अन्तर्गत पहिलो खेलमा १ सय ५ रन बनाएका यिनै स्मिथले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा १ सय ४ रन जोडे । एकदिवसीयमा ११ औं शतक बनाउने क्रममा उनले ६४ बलको सामना गर्दै १४ चौका र २ छ्क्का प्रहार गरेका थिए ।

यस्तै स्मिथलाई राम्रो साथ दिएका लाबुसेनले ६१ बलमा ५ चौकासहित ७० रन जोडे । र अत्यमा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ६४ जोडे । अविजित रहेका उनले उक्त रन बनाउने क्रममा २९ बलको सामना गर्दै ४ चौका र ४ छ्क्का प्रहार गरे ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामी , जसप्रित बुमराह र हार्दिक पाण्डेयाले समान एक -एक विकेट लिएका थिए ।

अब सिरिजको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । त्यसपछि यी दुई टोलीबीच तीन खेलको टि- ट्वान्टी र चार खेलको टेस्ट सिरिज हुनेछ ।