onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

स्मिथले शतकीय पारी खेल्दा अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोलीले सानदार ब्याटिङ गर्दै विशाल योगफल खडा गरेको छ ।

सिड्नी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको छ ।

अष्ट्रेलियाले विशाल योगफल खडा गर्ने क्रममा उसले सुरुवात पनि निकै राम्रो पाएको थियो । उसका लागि ओपनरद्वय डेविट वार्नर र आरोन फिन्चले १ सय ४२ रनको ओपनिङ साझेदारी गरेका थिए ।

त्यसबीचमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका आरोन फिन्चले ६० रन बनाए । टिमका कप्तान समेत रहेका फिन्च २२.५ ओभरमा मोहम्मद शामीको बलमा विराट कोहलीको हातबाट क्याच आउट हुनुअघि ६९ बलको सामना गर्दै ६ चौका र १ छ्क्का समेत प्रहार गरेका थिए ।

टिमलाई सानदार सुरुवात दिलाएर फिन्च आउट भएपछि वार्नरलाई साथ दिन शीर्ष क्रममा अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमा आएका थिए । तर यो जोडी भने जम्न नसकेपनि दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले उत्कृष्ट ब्याटिङ भने गरे ।

२५.३ ओभरमा टिमको स्कोर १ सय ५६ हुँदा रन आउट हुन् पुगेका वार्नरले ७७ बलमा ७ चौका र ३ छ्क्कासहित ८३ रन बनाए ।

दुई ओपनर ब्याट्सम्यानपछि अष्ट्रेलियाले तेस्रो विकेटका लागि स्मिथ र मार्नस लाबुसेनबीच अर्को उत्कृष्ट साझेदारी पायो । यी दुईबीच तेस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी हुन् पुग्यो ।

४१.२ ओभरमा टिमको स्कोर २ सय ९२ रन हुँदा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका स्मिथले शतकीय पारी खेले । सिरिज अन्तर्गत पहिलो खेलमा १ सय ५ रन बनाएका यिनै स्मिथले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा १ सय ४ रन जोडे । एकदिवसीयमा ११ औं शतक बनाउने क्रममा उनले ६४ बलको सामना गर्दै १४ चौका र २ छ्क्का प्रहार गरेका थिए ।

यस्तै स्मिथलाई राम्रो साथ दिएका लाबुसेनले ६१ बलमा ५ चौकासहित ७० रन जोडे । र अत्यमा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ६४ जोडे । अविजित रहेका उनले उक्त रन बनाउने क्रममा २९ बलको सामना गर्दै ४ चौका र ४ छ्क्का प्रहार गरे ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामी , जसप्रित बुमराह र हार्दिक पाण्डेयाले समान १/१ विकेट लिएका थिए ।

तीन खेलको एकदिवसीय अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले जित आत्मसाथ गरेको थियो । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्