जोनी बेयरस्टोले उत्कृष्ट प्रदर्शन गर्दा इंग्ल्यान्ड विजयी
एजेन्सी । दक्षिण अफ्रिका भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टि- ट्वान्टी खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ ।
इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गर्ने क्रममा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ८० रनको चुनौतीलाई इंग्ल्यान्डले ५ विकेटको क्षतिमा ४ बल बाँकी रहदै पूरा गर्यो ।
इंग्ल्यान्डलाई सिरिजमा विजयी सुरुवात दिलाउने क्रममा जोनी बेयरस्टोले उत्कृष्ट प्रदर्शन गरे । खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका उनले अविजित रहदै ८६ रन बनाए । उनले उक्त रन बनाउने क्रममा ४८ बलको सामना गर्दै ९ चौका र ४ छ्क्का समेत प्रहार गरे ।
यस्तै टिमका लागि बेन स्टोक्सले ३७ तथा डेविड मालन १९ तथा कप्तान इयोन मोर्गनले १२ रन बनाएका थिए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडी र जर्ज लिन्डेले समान २/२ विकेट लिएका थिए भने तबराइज शम्सीले पनि १ विकेट लिएका थिए ।
त्यसअघि क्यापटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ठूलो पारी खेले । अर्धशतक बनाएका उनले ४० बलको सामना गर्दै ४ चौका र २ छ्क्कासहित ५८ रन बनाए ।
फाफ डु प्लेसिसबाहेक टिमका लागि क्विन्टन डि कोकले ३० रन र भ्यान डेर दुसेनले ३७ रन बनाएका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका साम कुरानले ३ विकेट लिए भने जोफ्रा आर्चर , ट्म कुरान र क्रिस जोर्डनले समान १/१ विकेट लिएका थिए ।
अब तीन खेलको सिरिज अन्तर्गत दोस्रो टि – ट्वान्टी खेल आईतबार हुनेछ । भने तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि यी दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ ।