फिन्च र स्मिथको शतकमा अष्ट्रेलियाले दियो भारतलाई विशाल चुनौती
एजेन्सी । अष्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले राम्रो ब्याटिङ गर्दै विशाल योगफल बनाउन सफल भएको छ ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको छ ।
अष्ट्रेलियाले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान आरोन फिन्च , स्टिभ स्मिथ रओपनर ब्याट्सम्यान डेविट वार्नरले सानदार ब्याटिङ गरे ।
टिमले सुरुवात देखिनै राम्रो प्रदर्शन गरेको थियो । उसका लागि ओपनरद्वय वार्नर र आरोन फिन्चले १ सय ५६ रनको ओपनिङ साझेदारी गरेका थिए ।
टिमलाई सानदार सुरुवात दिलाउने क्रममा वार्नर ब्यक्तिगत ६९ रन बनाएर मोहम्मद शामीको बलमा आउट हुन् पुगेका थिए । ७६ बलको सामना गरेका उनले ६ चौकासहित उक्त रन बनाएका थिए ।
वार्नर पभेलियन फर्किएपछि कप्तान फिन्चलाई साथ दिन अर्का अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमा आएका थिए । जसमा स्टिभले पनि आरोनलाई राम्रो साथ दिए । त्यसको फलस्वरूप अष्ट्रेलियाले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी प्राप्त गरेको थियो ।
३९.६ ओभरमा टिमको स्कोर २ सय ६४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका फिन्चले शतकीय पारी खेले ।१ सय २४ बलको सामना गरेका उनले जसप्रित बुमराहको बलमा क्याच आउट हुनुअघि ९ चौका र २ छ्क्कासहित १ सय १४ रन बनाए । यो उनको करियरको एकदिवसीयमा १७ औं शतक पनि हो ।
फिन्च आउट भएपछि स्मिथले पनि राम्रो ब्याटिङ गर्दै शतक पूरा गरे । आफ्नो करियरको दशौं शतक प्रहार गर्ने क्रममा उनले ६६ बलको सामना गर्दै ११ चौका र ४ छ्क्कासहित १ सय ५ रन बनाए ।
यस्तै यी तीन बाहेक आक्रमक शैलीमा ब्याटिङ गरेका ग्लेन म्याक्सवेलले मात्र १९ बलको सामना गर्दै ५ चौका र ३ छ्क्कासहित ४५ रन बनाए भने मार्नस लाबुसन २ रनमा आउट हुँदा एलेक्स क्यारीले र प्याट कमिन्सले अविजित रहदै क्रमशः १७ र १ रन बनाए ।
बलिङतर्फ भारतका मोहम्मद शामीले ३ तथा जसप्रित बुमराह ,नभदिप शैनी र युजभेन्द्र चहलले समान १/१ विकेट लिएका थिए ।