अलराउन्डर करण पोखरा युनिभर्सिटी क्रिकेट लिगको ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य तथा अलराउन्डर करण केसी पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल) को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
प्रतियोगिताको आयोजक पोखरा युनिभर्सिटी क्रिकेट क्लबले उनलाई बुधबार ब्रान्ड एम्बासडरको रुपमा भित्राएको छ ।
हाल काठमाडौंमा नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत रहेका करणलाई आयोजकले प्रतियोगिताको प्रतिक स्वरुपको पोसाक प्रदान गर्दै आबद्ध गरेको थियो ।
पोखरास्थित रंगशालामा आयोजना हुने प्रतियोगितालाई अझ भब्य र सभ्य बनाउने हेतुका साथ करणलाई आबद्ध गरिएको आयोजक क्लबका अध्यक्ष प्रकाश खनालले अनलाइन खेल खबरलाई जानकारी गराए ।
उनका अनुसार नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका करण जोडिएपछि आफूहरुलाई पनि छुट्टै जोश र थप हौसला मिलेको बताए ।
पोखरा क्षेत्र भित्र खेल जगतमा आफ्नो छुट्टै नाम बनाउन सफल भएको यस प्रतियोगिता पछिल्लो समयमा विद्यार्थीहरुका लागि आफू भित्रको प्रतिभा र क्षमतालाई देखाउने राम्रो माध्यम बनिरहेको छ ।
हालसम्म आईपुग्दा क्लबले पुरुषतर्फ पोखरा विश्वविद्यालय क्रिकेट लिगका तीन संस्करण र महिलातर्फ पहिलो संस्करण आयोजना गरिसकेको छ ।
यता अहिले आयोजक चौथों संस्करण आयोजना गर्ने तयारीमा जुटिरहेको छ । जसमा पोखरा विश्वविद्यालयका कलेजहरुलाई समावेश गर्दै अक्सनबाट खेलाडी छ्नोट गरि प्रतियोगिता सुरु गरिने छ ।