पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिता स्थगित
काठमाडौं (अनलाइन खेलखबर )। सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा हुने जीतबहादुर खड्का स्मृति पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको चौथों संस्करण कोरोना भाइरस (कोभिड-१९ ) का कारण स्थगित हुन् पुगेको छ ।
प्रतियोगिताको आयोजक पाँच पोखरी क्रिकेट क्लबले बुधबार एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएको छ ।
हाल विश्वसँगै नेपालमा पनि कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै नेपाल सरकारको रोकथाम र नियन्त्रणको मापदण्ड अनुसारनै प्रतियोगिता निर्धारित मितिमा आयोजना गर्न नसकिएको आयोजकले जानकारी गराएको छ ।
क्लबका अध्यक्ष उत्सव धितालका अनुसार अब प्रतियोगिता माहामारीको प्रभाव कम भई कार्यक्रमहरु गर्न नेपाल सरकारबाट अनुमति प्राप्त भएपछि हुनेछ ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिनु भएका पारा ओलम्पिक खेलाडी स्व .जित बहादुर खड्काको स्मृतिमा गरिदै आएको यस प्रतियोगिताका तीन संस्करण उत्कृष्ट तरिकाले आयोजना भईसकेको छ । जस अन्तर्गत प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि शृङ्खला छिम्ती क्रिकेट क्लबले उचालेको थियो ।
फाइनल खेलमा आयोजक पाँच पोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै शृङ्खला छिम्ती प्रतियोगिताको च्याम्पियन बनेको थियो ।
जस अन्तर्गत विजेता टोली शृङ्खला छिम्तीले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेता पाँच पोखरी क्रिकेट क्लबले नगद ३५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको थियो ।