स्मृती मन्धानाको टोली ट्रेलब्लेजर्सले उचाल्यो वुमेन्स टि- ट्वान्टी च्यालेन्जको उपाधि
एजेन्सी । युएईमा भएको वुमेन्स टि- ट्वान्टी च्यालेन्जको उपाधि स्मृती मन्धानाको कप्तानीमा रहेको ट्रेलब्लेजर्सले उचालेको छ ।
गएराती भएको प्रतियोगिताको फाइनल खेलमा सुपरनोभाजलाई १६ रनले पराजित गर्दै ट्रेलब्लेजर्स प्रतियोगिताको च्याम्पियन बनेको हो ।
शारजाह क्रिकेट रंगशालामा भएको खेलमा ट्रेलब्लेजर्सले प्रस्तुत गरेको १ सय १९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सुपरनोभाजले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय २ रनमा सिमित हुन् पुगेपछि ट्रेलब्लेजर्स च्याम्पियन बनेको हो ।
सुपरनोभाजका लागि कप्तान हरमनप्रीत कौरले सर्वाधिक ठूलो पारी खेलेकी थिइन् । ३६ बलको सामना गरेकी उनले २ चौकासहित ३० रन बनाएकी थिइन् ।
यस्तै शशीकला श्रीवर्दनेले १९ रन बनाएकी थिइन् भने तानिया भाटियाले १४ र जेमिमाह रोड्रिग्सले १३ रन बनाएकी थिइन् ।
बलिङतर्फ ट्रेलब्लेजर्सकी सलमा खातुनले ३ विकेट लिँदा दिप्ती शर्माले २ तथा सोफिले १ विकेट लिएकी थिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ट्रेलब्लेजर्सले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
ट्रेलब्लेजर्सले उक्त रन बनाउने क्रममा टिमकी कप्तान स्मृती मन्धानाले कप्तानी पारी खेलेकी थिइन् । जसअन्तर्गत ४९ बलको सामना गरेकी उनले ५ चौका र ३ छ्क्कासहित ६८ रन बनाएकी थिइन् ।
यस्तै टिमका लागि अर्कि ओपनर ब्याटर डिन्द्रा डोल्टिनले २० रन बनाउँदा रिचा घोषले १० रन जोडेकी थिइन् ।
बलिङतर्फ सुपरनोभाजकी राधा यादव एक्लैले ५ विकेट लिएकी थिइन् भने पुनम यादव र शशीकलाले१/१ विकेट लिएका थिए ।
नोभेम्बर ४ देखि सुरु भएको यस वुमेन्स टि- ट्वान्टी च्यालेन्ज लिगमा तीन टोलीको सहभागिता रहेको थियो । जसमा वेलोसिटी , ट्रेलब्लेजर्स र सुपरनोभाजको प्रतिस्पर्धा रहेको थियो ।