onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेंगलोरलाई हराउँदै हैदराबाद दोस्रो क्वालिफायरमा

एजेन्सी – विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै सनराईजर्स हैदराबाद युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

शुक्रबार प्रतियोगिताको एलिमीनेटर खेलमा हैदारबादले बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो । अब हैदराबादले आईतबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित दिल्ली क्यापिटल्सको सामना गर्नेछ । विजेता टिमले सोमबार हुने फाइनलमा मुम्बईसँगको भेट पक्का गर्नेछ ।

यता खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ३२ रनको विजयी चुनौतीलाई हैदराबादले २ बल बाँकी रहदै मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई दोस्रो क्वालिफायरमा पुर्याउने क्रममा केन विलियमसनले सर्वाधिक ठूलो पारी खेले । टिमलाई जित दिलाउन अत्यसम्म खटेका उनले अविजित रहदै ५० रन बनाए । ४४ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा २ चौका र २ छक्का समेत प्रहार गरे । यस्तै केन विलियमसनलाई अत्यमा साथ दिएका जोसन होल्डरले पनि अविजित रहदै २४ रन बनाएका थिए ।

त्यसअघि कप्तान डेविट वार्नरले १७ तथा मनिष पाण्डेले २४ रन बनाएका थिए ।

बलिङतर्फ बेंगलोरका लागि मोहम्मद सिराजले २ तथा जम्पा र युजभेन्द्र चहलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

बेंगलोरले सामान्य योगफल बनाउने क्रममा उसका लागि एबी डि भिलियर्सले सर्वाधिक ठूलो पारी खेले । सातौं विकेटका रुपमा नटराजनको बलमा आउट हुन् पुगेका उनले ४३ बलको सामना गर्दै ५ चौकाको सहयोगमा ५६ रन बनाएका थिए।

एबी डि भिलियर्स बाहेक टिमका लागि आरोन फिन्चले ३२ रनको योगदान गर्दा ओपनर तथा टिमका कप्तान विराट कोहलीले मात्र ६ रन बनाएका थिए । यस्तै अन्य थप खेलाडीले पनि उलेख्य योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको थियो ।

कसिलो बलिङ प्रस्तुत गर्ने क्रममा हैदराबादका जोसन होल्डरले ३ तथा नटराजनले २ तथा शाबाज नदीमले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्