onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेंगलोरबाट हैदराबादलाई झिनो विजयी लक्ष्य प्राप्त

एजेन्सी – एबी डि भिलियर्सको अर्धशतकीय पारीमा रोयल च्यालेन्जर्स बेंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत एलिमीनेटर खेलमा सनराइजर्स हैदराबादलाई १ सय ३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको छ ।

बेंगलोरले यो योगफल बनाउने क्रममा उसका लागि एबी डि भिलियर्सले सर्वाधिक ठूलो पारी खेले । सातौं विकेटका रुपमा नटराजनको बलमा आउट हुन् पुगेका उनले ४३ बलको सामना गर्दै ५ चौकाको सहयोगमा ५६ रन बनाए ।

एबी डि भिलियर्स बाहेक टिमका लागि आरोन फिन्चले ३२ रनको योगदान गर्दा ओपनर तथा टिमका कप्तान विराट कोहलीले मात्र ६ रन बनाएका थिए ।यस्तै अन्य थप खेलाडीले पनि उलेख्य योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भयो ।

कसिलो बलिङ प्रस्तुत गर्ने क्रममा हैदराबादका जोसन होल्डरले ३ तथा नटराजनले २ तथा शाबाज नदीमले १ विकेट लिएका थिए ।

यस खेलको विजेताले प्रतियोगिताको फाइनल पुग्न आईतबार दिल्लीसँग प्रतिस्पर्दा गर्नेछ । दिल्ली पहिलो क्वालिफायरमा पराजित टिम हो । पहिलो क्वालिफायरमा जित दर्ता गर्दै साविकको च्याम्पियन्ससमेत रहेको मुम्बई फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्